१० बैशाख २०८२, बुधबार

रासस

४ वर्ष अगाडि

झापा, ८ कार्तिक । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का संक्रमितहरूको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आव्हान गरेको छ ।
शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित वीपी मेमोरियल अस्पतालमा उपचाररत १३ संक्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आव्हान गर्नुभएको हो ।
उहाँले कोभिडका संक्रमितहरू निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको विर्तामोड शाखामा रहेको प्लाज्मा बैंकमा आएर निःशुल्क दान गर्न आग्रह गर्नुभयो । ‘संक्रमितको संख्या बढेसँगै कतिपय गम्भीर अवस्थामा आइसियूमा हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘चार जनालाई तत्काल प्लाज्मा चाहियो भनेर बिरामीका आफन्तले मागिरहनुभएको छ । उहाँहरूको जीवन बचाउन कोरोना जितेकालाई अपील गर्दछौँ ।’
उहाँले हालसम्म आठ जनालाई प्लाज्मा बैंकमा जम्मा भएको प्लाज्मा निःशुल्क प्रदान गरेको बताउनुभयो । बैंकमा चार पोका प्लाज्मा मौज्दात रहे पनि ब्लड ग्रुप नमिलेका कारण दिन नसकेको बताउनुभयो । सभापति ढकालले चितवन, धरान र मोरङमा रहेका बैंकबाट समेत प्लाज्मा ल्याएर संक्रमितको उपचारमा सेवा दिइरहेको बताउनुभयो । जिल्लामा हालसम्म १० जनाले प्लाज्मा दान गरेका छन् ।
जिल्लामा कूल संक्रमित एक हजार ६५१ जनामध्ये एक हजार १०० जना निको भइसकेका छन् । होम आइसोलेसनमा ३८८ जना रहेका छन् । संक्रमणबाट मुक्त भएको २० दिनपछि प्लाज्मा दान गर्न मिल्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो ।

शनिबार, कार्तिक ०८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]