विराटनगर, २८ असोज । प्रदेश १ सामाजिक विकास मन्त्रालयले मोरङको कटहरीका शिक्षकलाई सूचना प्रविधिसम्वन्धी तालिम संचालनका लागि बुधबार सम्झौता गरेको छ ।
विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम संचालन निर्देशिकाअनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न र डिजिटल साक्षरता कार्यक्रम संचालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षासम्वन्धी शिक्षकहरुमा क्षमता विकास तालिम संचालनका लागि मन्त्रालयले मोरङको कटहरी गाउँपालिकासँग सम्झौता गरेको हो ।
सूचना प्रविधिसम्वन्धी तालिम संचालनका लागि कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत र मन्त्रालयका शिक्षा महाशाखा प्रमुख कृष्ण पोखरेलबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार गाउँपालिकाले तालिमका लागि ९० जना सामुदायिक विद्यालय र १० जना संस्थागत विद्यालयका शिक्षक छनौट गर्नुपर्ने छ ।
मन्त्रालयले यसअघि धनकुटाको धनकुटा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरङको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ । पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ ।