रंगेली, ३ कार्तिक । रंगेली नगरपालिका–७ बजार क्षेत्रमा सडकको दायाँ बायाँमा नाला बनाउने काम द्रुतगतिमा निर्माण भईरहेको छ ।
कालिका कन्स्ट्रकसनले सो नाला बनाइरहेको छ । कम्पनीले नालामा बारम्बार कमसल ईट्टाको प्रयोग गरिरहेको पाईएको छ । साता दिन अगाडिसमेत नाला बनाउन कमसल ईट्ट प्रयोगमा ल्याए पछि स्थानीयले उक्त ईट्टा फिर्ता गर्न लगाएका थिए ।
अहिले पुनः सो कम्पनीले नाला बनाउन कमसल ईट्टा कै प्रयोग गरिरहेको पाईएको छ । बारम्बार यस्तो कमसल ईट्टाको प्रयोग गरेर लापरबाही गर्दा समेत स्थानीय निकाय भने मौन बसेको छ ।
नगरपालिका र सडक बिभागका ईन्जिनियरहरुले बेला–बेलामा अनुगमन नगरेका कारणले गर्दा यस्ता ठुला कम्पनीहरुले आफू खुशी गरिरहेका छन भने जनताको आँखामा छारो हालिरहेका छन् ।
सो बिषयमा सम्वन्धित निकायले समयमै ध्यान नदिए नाला बनाएको केही बर्षमै भित्किएमा नगरपालिकाले जवाफदेहि हुनुपर्ने समेत देखिन्छ । केही दिन अगाडिसमेत बिद्युत पोलबाट हुक लगाएर बिद्युत चोरी गरेको पाईएको थियो । सडक खण्डको दायाँ बायाँमा सडक भत्कन नदिनका लागि निर्माण गर्दै गरिरहेको कम्लमवाल (रिटेनिङ्ग वाल बनाउनका लागि भाईवेरट मेसिन प्रयोग गर्नका लागि कालिकाले बिद्युत चोरी गरेर काम गर्ने गरेको पाईएको थियो । सो सडक खण्डको ठेक्का कालिका–मैनाचुली–भेडेन्सी जेभि काठमाण्डौले पाएको हो । कम्पनीले अहिले सो क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु गरेता पनि बिद्युत भने चोरी र कमसल ईट्टाको प्रयोग गरेर काम गरिरहेको भेटिएको हो ।
कालिकाले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैंयामा ठेक्का पाएको छ । सो सडक ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने भएको छ ।