०८ चैत्र २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २६ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता रोकथाम तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले तीन वटा मोडालिटीमा काम गरिरहेको बताउनु भएको छ । उहाँले अपाङ्गता भएका व्यक्ति जन्मनै नदिने, जन्मिए स्वास्थ्य अवस्था पहिचान गर्ने र व्यवस्थापन गर्ने मोडालिटीबाट काम शुरु गरिएको बताउनुभयो ।
अपाङ्गताको दर घटाउने गरी स्थानीय तहमा संचालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको सोमबार अनलाईनमार्फत गरिएको बार्षिक समिक्षा कार्यक्रममा मन्त्री घिमिरेले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको परिणाम आउन थालेपछि घर–घरमा खुशी छाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘घर–घर, समाज र प्रदेशमा खुशी छाउने छ ।’ अपांगता भएका व्यक्तिहरु जन्मनै नदिने, अहिले अपाङ्गता भएका व्यक्तिको पुर्नस्थापना गरी जीवन शैलीलाई सहज बनाईने उहाँले बताउनुभयो । स्थानीय पालिका र साझेदार संस्थाहरुसँग मिलेर काम भईरहेको मन्त्री घिमिरेले बताउनुभयो ।
प्रदेश १ सरकारले चालु आर्थिक बर्षसम्ममा ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालन गरेको छ । पहिलो चरणमा २७ वटा स्थानीय तहबाट कार्यक्रम शुरु भएको थियो । मातृ शिशु तथा बाल स्वास्थ्य र पोषण सेवामा सबै समूहको पहुँच तथा उपभोग बृद्धि गर्ने, अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने र सम्बन्धित स्थानीय तहका सेवा प्रदायक संस्थाहरुको सुदृढीकरणमा सहयोग गर्ने उद्देश्यसहित सामाजिक विकास मन्त्रालयले करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा कार्यक्रम संचालन गरेको छ ।
प्रदेश १ मा २० प्रतिशतले जन्मदोष दर र ४० प्रतिशतले जन्मपश्चात हुने अपाङ्गताको दर घट्ने दीर्घकालिन परिणामसहित कार्यक्रम शुरु गरिएको करुणा फाउण्डेसन नेपालका सहनिर्देशक योगेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार मातृ मृत्यु दर प्रति लाख जिवित जन्ममा २३९ बाट ९९ र नवजात शिशु मृत्यु दर प्रति हजार जिवित जन्ममा २१ बाट १४ हुनेछ । कार्यक्रम संचालन गर्ने सबै स्थानीय तहले प्रदेश सरकारको सहयोगमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमलाई निरन्तरता दिने बताईएको छ । कार्यक्रम अवधि भित्र स्थानीय तह भित्र रहेका सबै सार्वजनिक भौतिक संरचनाहरु सबैका लागि पहुँचयुक्त हुने लक्ष्यका साथ कार्यक्रम संचालित रहेको करुणा फाउण्डेसनका सहनिर्देशक गिरीले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलगायतले बोल्नु भएको थियो ।

सोमबार, आश्विन २६, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]