विराटनगर, १५ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएकोमा जोड दिनुभएको छ ।
विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधिमैत्री बनाउने अभियानको शुरुवात प्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साँझेदारीमा संचालित सूचना प्रविधि सम्वन्धि अनलाईन शिक्षक तालिमको बिहीबार शुभारम्भ गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो ।
प्रदेश सरकारले डिजिटल प्रदेशको यात्रा शुरु गरिसकेको बताउँदै उहाँले भन्नुभयो, शिक्षालाई सूचना प्रविधिसँग जोड्न आवश्यक छ ।’ डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रम बनिसकेको मुख्यमन्त्री राईले बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले १० बर्षभित्रमा प्रदेशबाट किताव र झोलामुक्त गरिने लक्ष्यअनुसार काम भईरहेको बताउनुभयो । कोरोनाका कारण १० बर्षभित्रको लक्ष्य ३ बर्ष भित्रमा पुरा हुने देखिएको उहाँले बताउनुभयो । कोरोनाका कारण अहिले अनलाईन शिक्षण विधि शुरु भईसकेको बताउँदै उहाँले किताव र झोलामुक्त प्रदेश चाँडै हुने दावी गर्नुभयो ।
पहिलो चरणमा ६ बटा स्थानीय तहका ६ सय शिक्षकलाई तालिम शुरु गरिएपनि दसैं अगावै ३० वटा स्थानीय तहका ३ हजार शिक्षकलाई सूचनाप्रविधि सम्वन्धि तालिम दिईने मन्त्री घिमिरेको भनाई छ । ३ हजार शिक्षकले सूचना प्रविधिको तालिम लिईसकेपछि चेतना, प्रविधि र सीपको भेल आउने उहाँले बताउनुभयो । समाज प्रविधिप्रति आकर्षित बन्दै गएको मन्त्रि घिमिरेको भनाई छ । उहाँले भन्नुभयो, ‘विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्य हुने छ ।’
मन्त्री घिमिरेले आगामी दिनमा कठोर लकडाउनको अवस्था नभएकाले कोरोनासँग जुध्दै अघि बढ्नुपर्ने समय आएको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक विकास संसदीय समिति सभापति सरिता थापा, इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर काकी लगायतले प्रविधि अनलाईन तालिमले शिक्षक सिकाईमा महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।
प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम संचालन निर्देशिकाअनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप संचालन गर्न र डिजिटल साक्षरता कार्यक्रम संचालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्वन्धि शिक्षकहरुमा क्षमता विकास तालिममा इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरेका ६ सय शिक्षकहरुको सहभागिता रहेको विकास मन्त्रालयले जनाएको छ ।