३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, १२ भदौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ५ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प छ । लामो समयदेखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारले विद्यालयमा सिकाई संचालनका लागि तयारी शुरु गरेको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्वन्धित व्यक्तिहरुसँग परामर्श गरी विद्यालयमा सिकाई संचालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशन अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरी सुझाव संकलन गरेको छ । मन्त्रालयले विद्यालयमा सिकाई संचालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताउनुभयो । उहाँले मन्त्रालयले प्राप्त गरेको सुझावअनुसार चाँडै बैठक बसेर निश्कर्षमा पुगिने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख÷उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरी संकलन गरिएको सुझाव शिक्षा मन्त्रालय समक्ष पेश गरेको छ । मन्त्रालयले विद्यालयमा असोज देखि सिकाई सञ्चालनको सुझाव दिएको छ ।
सिकाई संचालन अघि भदौ भित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाईन, आईसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने सुझाव दिईएको छ । कक्षा संचालन पूर्व विद्यालयमा निर्मलिकरण गर्नुपर्ने, लकडाउनका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्नका लागि सहज वातावरण बनाईनुपर्ने सामाजिक विकास मन्त्रालयले सुझाव दिएको छ ।
सामाजिक विकास मन्त्रालयले विहान र दिउँसो दुई चरणमा विद्यालय संचालन गर्नुपर्ने सुझाव दिएको छ । उसले जोर विजोर विद्यार्थी (रोल नम्वरका आधारमा ), जोर विजोर कक्षा संचालन गर्न सकिने सुझाव दिएको छ । स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरी कोभिड टाक्स टिम तयार गर्ने र टिमको सुझावअनुसार विद्यालय संचालन गर्न सकिने सुझाव दिईएको छ । सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्व संचालन गर्न सुझाव दिएको छ ।
मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलिकरण गरेर छिटो भन्दा छिटो विद्यालय संचालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन शुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रदेश १ का १ सय ३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाईन रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ वटा विद्यालयमा होल्डिङ सेन्टर, ३ वटा विद्यालय र एउटा क्याम्पसमा आईसोलेसन केन्द्र संचालनमा छन् । प्रदेश १ का ७ हजार १ सय ३७ विद्यालयमा करिव १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार, भाद्र १२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]