०१ साउन २०८१, मंगलबार

Darshan Daily

४ वर्ष अगाडि

जनकपुरधाम : भोको पेट। अनिँदो अवस्था। टन्टलापुर घाममा पसिनाले भिज्दै घर जाने प्रतीक्षामा भेटिए भागेश्वर पासवान। भारतको गुजरात राज्यबाट पाँच दिन रेल, बस, ट्रक र पैदल यात्रा गरी आफ्नो देश आइपुगेका पासवान धनुषाको जटही नाकामा रोकिए। धनुषाकै हंसपुर नगरपालिका घर भए पनि उनलाई त्यहाँ पुग्न सजिलो छैन। नाकासम्म पुगेको दुई दिन भइसक्दा पनि सवारी साधन अभावका कारण उनलाई पालो कुर्नुपर्ने बाध्यता छ।

विदेशबाट आएको हुँदा उनी सोझै घर जान सक्दैनन्। पहिला क्वारेन्टाइनमा १४ दिन कटाउनुपर्छ। स्वास्थ्य परीक्षणपछि उनी कोभिड-१९ संक्रमित भेटिएनन् भने मात्रै घर जान पाउँछन्। तर, घरसम्मको यात्रा त्यति सजिलो कहाँ छ र !

तराईमा गर्मी उच्च भइरहँदा एउटै रूखको छहारीमा पासवानजस्तै २ सयभन्दा बढी व्यक्ति टाँसिएर ओत लिइरहेका छन्। कति त त्यहाँ बसेको चार दिन बित्यो। सम्बन्धित प्रदेश वा स्थानीय तहले सवारी साधनको बन्दोबस्त नमिलाउँदा उनीहरू क्वारेन्टाइनसम्म पुग्न पाएका छैनन्। उल्टै संक्रमणको जोखिममा छन्।

धनुषाको जटही नाकाबाट गाडीमा कोचिएर क्वारेन्टाइनतर्फ जाँदै गरेका नागरिक। मनिका झा

अरूको देशबाट दुःखकष्ट सहेर स्वदेश फर्किएकाहरूलाई सीमामा सास्ती देखिएको छ। तीनै तहका सरकारले आफ्ना नागरिकलाई खानेपानीको व्यवस्थासमेत गरेका छैनन्। ‘दुई दिन भइसक्यो एक मुठी च्युरा र नुन खाएर बाँचेका छौं’, सिरहाका महेश राउतले भने, ‘खानेपानीको बन्दोबस्त छैन। प्रशासनलाई केही सोध्यो भने गाली गर्ने र हप्काउने मात्रै गर्छ।’

सप्तरीका नवजीवन गडेरीले सीमामा आएको दुई दिनसम्म पनि घर फर्किन सवारी साधन नपाएको बताए। ‘हिजो दिनभर घाममा उभियौं’, उनले भने, ‘राति हुरीबताससँगै ठूलो वर्षा आउँदा सबै सामान भिजेर बिजोग भएको छ।’

घर जान सीमामा पालो कुर्दै सर्वसाधारण। तस्बिर : मनिका झा

भारतमा लामो समय काम गरेर फर्किएका अधिकांशसँग नेपालको सिम छैन। घरमा फोन गरेर सीमाबाट लग्ने बन्दोबस्त मिलाउन भन्न पनि नसक्ने अवस्था छ। आफ्ना नागरिकलाई स्वदेश फर्काउन थाले पनि सरकारले उनीहरूका लागि होल्डिङ प्लेस, व्यवस्थित क्वारेन्टाइन र स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सकेको छैन। प्रत्येक दिन सय, डेढ सयको संख्यामा नेपाली फर्किंदै छन्। तर, उनीहरूका लागि सीमामा खाना त के पानीको व्यवस्थासमेत नरहेको जटही नाकामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर धु्रव भट्टले बताए।

‘यहाँ बिजोग छ। उताबाट आउनेहरू भोकै प्यासै हुन्छन्। मैले गाउँलेहरूबाट केही चामल, च्युरा मागेर सकेजतिलाई खुवाउने प्रयत्न गर्छु’, उनले भने, ‘जाउलो पकाएर खुवाउन खोज्यो भने केमा खान दिने समस्या छ। यहाँ पातको व्यवस्थासमेत छैन।’

पानी नहुँदा अधिकांश भोकप्यास मारेर घर फर्किने प्रतीक्षा गर्छन्। स्थानीय तहलाई पटक-पटक व्यवस्थापनका लागि आग्रह गरे पनि कतैबाट पहल नभएको सुरक्षाकर्मी बताउँछन्।

धनुषा जिल्लाभरिका लागि जिल्ला प्रशासन कार्यालयबाट एउटा भ्यान र एउटा बस व्यवस्था गरिएको छ। ती सवारी साधनमा अटेजति कोचेर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनसम्म पुर्‍याउने गरिन्छ। अर्काे जिल्ला जानेलाई भने गाह्रो छ। ‘हामीले अर्को प्रदेशका स्थानीय तहहरूलाई पनि आफ्ना नागरिक लग्न अनुरोध गर्छौं तर उहाँहरूले सवारी साधन नै नपठाएपछि सीमामै बस्न बाध्य हुनुपरेको छ’, इन्स्पेक्टर भट्टले भने।

सीमामा खटिएका प्रहरी पनि स्रोतसाधन अभावमा कोरोनाको उच्च जोखिममा छन्। ‘भारतबाट आउनेहरू सोझै पोस्टमै आएर कुरा गर्न खोज्छन्। कतिपयले घरमा फोन गरिदिनू भन्दै नजिकिन्छन्’, नेपाल प्रहरीका हवल्दार बलबहादुर श्रेष्ठले भने, ‘हामीसँग एउटा कपडाको मास्क छ, त्यो पनि साताभरि एउटै लगाएर खेप्नुपर्ने बाध्यता छ। हामी त झनै जोखिममा छौं।’

गर्भवती भोकभोकै

अछामको ढकारी गाउँपालिका-१ का १५ जना जटही सीमामा तीन दिनदेखि अलपत्र छन्। भारतको जयनगरमा काम गर्न सपरिवार गएका उनीहरू कोरोना महामारीले त्यहाँ बस्न गाह्रो भएपछि उनीहरू स्वदेश फर्किएका हुन्। तर, प्रदेश २ बाट सुदूरपश्चिम प्रदेश लैजान न सवारी साधनको व्यवस्था छ न त कसैले केही व्यवस्थापनमा चासो नै देखाएका छन्।

पाँच वर्षमुनिका चार बालबालिका र दुई गर्भवतीसँगै अछाम जान भारतबाट हिँडेका दीपक बुढा र उनका साथीहरू जटहीको स्वास्थ्य चौकीमा घेरिएका छन्। ‘बच्चाहरु भोकभोकै छन्, गर्भवतीहरूले खान पाएका छैनन्’, उनले भने, ‘केही गरी हामीलाई घर फर्काउने बन्दोबस्त मिलाई दिनुपर्‍यो।’

गर्भवती सरिता बुढाले च्युरा चपाएर ज्यान जोगाएको बताइन्। उनले भनिन्, ‘खै कसरी घर पुग्ने हो ? ’ यहाँबाट भाडामा गाडी गरेर अछाम जान प्रहरीले सुझाव दिएको दीपकले सुनाए। तर, गाडीवालले ४० हजार रुपैयाँ मागेको छ। आफूसँग ३० हजार नगद भए पनि १० हजार नपुग्दा लैजान नमानेको दुखेसो उनले पोखे। ‘त्यहाँ पुगेर पैसा दिन्छु भन्दा मान्दैनन्। पहिला नै पैसा दिनुपर्‍यो अनि मात्रै पुर्‍याउने भन्छन्’, उनले भने, ‘खै के गर्ने हो थाहा छैन।’

annapurna post

मंगलबार, जेठ १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]