बिराटनगर, ५ भदौ । प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको छ ।
प्रहरीले शुक्रबार बिराटनगर–१२ पाथीभरा टोलका साईमन तामाङको घरबाट अवैध रूपमा राखेको घरेलु मदिरा ४० लिटर र मदिरा बनाउने कच्चा पदार्थ ४ हजार लिटर तथा मदिरा निर्माण गर्न प्रयोग गरिएका भाँडासमेत बरामद गरेको हो ।
प्रहरीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उक्त अवैध घरेलु मदिरा बरामद गरेको हो । बरामद गरेको अवैध मदिरा र कच्चा पदार्थ जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको जनाइएको छ ।
त्यसैगरि बुढिगंगा–६ कोरिया चोकमा प्रहरी चौकी कोयलपुरबाट खटिएको प्रहरी टोलीले टेम्पु, १६० लिटर घरेलु मदिरा र ३ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बुढिगंगा–६ कोरिया चोकमा शुक्रबार साँझ को२ह ५९८० नम्वरको टेम्पुमा १६० लिटर अवैध घरेलु मदिरासहित टेम्पु चालक बुढिगंगा–१ का सुमन भुजेल, बेलबारी नपा–११ कि मीना तामाङ र सबिता राईलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगमा बुझाउने प्रहरीले जनाएको छ ।