बिराटनगर, १ साउन । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघले संयुक्त विज्ञप्ती प्रकाशित गरी विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले बिहीबार संयुक्त विज्ञप्ती प्रकाशित गरी ध्यानाकर्षण गराएका हुन् ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र बिराट ब्यापार संघका अध्यक्ष सुजन थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोभिड १९ का कारण धरासायी भएका उद्योग व्यवसायहरुको पुनरउत्थानका लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट कर्जा भुक्तानीका लागि समय दिइएता पनि बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीलाई कडाई गरिएको, उद्योगी व्यवसायीहरुको खाताबाट विना जानकारी रकम स्वतः डेविट गरिएको, २ प्रतिशत ब्याज छुटको व्यवस्था कार्यान्वयन नभएको, कर्जा नविकरण शुल्क मनोमानी रुपमा लिइएको लगायतका विषयहरुमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनीहरुले नेपाल राष्ट्र बैंकलाई बैंकहरुको मात्र संरक्षण नगरी आर्थिक गतिविधि चलायमान राख्ने उद्योग व्यवसायहरुको समेत संरक्षण गर्न तथा उद्योगी व्यवसायीहरुलाई हतोत्साहित पार्ने गरी बैंकहरुबाट भएका यस प्रकारका गतिविधिहरुलाई समयमै नियमन गर्न नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक समक्ष अनुरोध रहेका छन् ।
त्यसैगरि जारी लकडाउनका कारण उद्योग व्यवसाय ठप्प रहेकोले बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी एवं कर तथा राजश्व भुक्तानी गर्न कठिनाई भइरहेको हुँदा उक्त कर्जा तथा कर आदि भुक्तानीको समयावधिलाई लकडाउन पूर्ण रुपमा खुले पश्चात् तीन महिना थप गर्न अनुरोध गरेका छन् ।
विज्ञप्तीमा आर्थिक रुपमा धरासायी भएका उद्योग–व्यवसायहरुको पुनरउत्थानका लागि नेपाल राष्ट्र बैंकद्वारा व्यवस्था गरिएको पुनरकर्जाको सुविधा पहुँचको आधारमा केहि सीमित उद्योगी व्यवसायीहरुले मात्र उपभोग गरिरहेको प्रति सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदै यस्तो सुविधा मुलुकलाई आत्मनिर्भर बनाउन योगदान गर्ने साना, मझौला तथा ठूला उद्योगी व्यवसायीहरुले सहज र सरल रुपमा पाउने व्यवस्थाका लागि अनुरोध गर्दछौं भनिएको छ ।
त्यसैगरि विगत ४ महिनादेखि जारी लकडाउनका कारण उद्योग व्यवसाय बन्द रहेको अवधीलाई शुन्य अवधी मानी सो अवधिको वीमा शुल्क छुट गर्न अथवा अवधि थप गर्न वीमा कम्पनीहरुलाई स्पष्ट निर्देशन गर्न नियमन निकाय राष्ट्रिय वीमा समितिको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमा विभिन्न सञ्चार माध्यममा प्रसारित समाचारअनुसार उद्योगपति एवं बैंकर पवन गोल्यानले उद्योगी व्यवसायीहरु प्रति व्यक्त गर्नु भएको गैह्र जिम्मेवारपूर्ण अभिव्यक्तिको हामी घोर भत्सर्ना गर्दै आगामी दिनमा उद्योगी व्यवसायीहरुलाई आघात पर्ने यस प्रकारका गैर जिम्मेवारपूर्ण अभिव्यक्ति नदिन सचेत गराउँदछौं भनिएको छ ।