२४ बैशाख २०८२, बुधबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

विराटनगर, ११ असार । रुकुम हत्याकाण्डको प्रमाण नष्ट गरी अपराधिलाई बचाउन खोजिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै जनवर्गिय संगठन नेपाल दलित मुक्ति संगठन मोरङले रुकुम पश्चिम चौरजहारीमा भएको हत्याकाण्डका दोषीलाई उम्काउन खोजिएको भन्दै बुधबार विरोध प्रदर्शन गरेको हो ।
संगठनले केन्द्रीय सर्कुलरबमोजिम मोरङसहित देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको हो ।
रुकुम पश्चिम चौरजहारीमा प्रेम सम्बन्धको विषयलाई लिएर अमानविय तथा क्रुर ढंगले नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।
सो हत्याकाण्डको मौजुदा प्रमाण नष्ट गर्ने प्रयास गरिएको, मृतक युवाहरुको पोष्टमार्टम रिपोर्ट चिकित्सकले गलत बनाएको, धनुषामा शम्भु सदा झुण्डिएको अवस्थामा फेला परेको घटनाको छानविन गर्नुपर्ने भन्दै दलित मुक्ति संगठन मोरङको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो ।
चौरजहारी घटनाका दोषीलाई हदैसम्मको कारवाही गर, दलित माथि हुने सबै किसिमका अन्याय, अत्याचार र विभेदको अन्त्य गर, कि त दलितलाई प्रेम गर्ने अधिकार नै छैन भन्ने हिम्मत गर, कि त दलितले गरेको प्रेमलाई स्वीकार गर्ने आँट गर, रुकुम हत्याकाण्डका पीडितलाई न्याय दे लगायतका नारा लेखिएको प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको हो ।
विरोधसभामा राष्ट्रिय सभाका निवर्तमान सांसद खेम नेपालीले प्राप्त प्रमाण नष्ट गरी रुकुम पश्चिम चौरजहारी हत्याकाण्डका दोषीलाई उम्काउने प्रयास गरिएको बताए । उनले चिकित्सकले मृतकको पोष्टमार्टमको रिपोर्टसमेत गलत बनाएर दोषीहरुलाई बचाउन खोजिएको बताए ।
नेकपाका नेतासमेत रहेका नेपालीले हत्याकाण्डका दोषीमाथि हदैसम्मको सजाय नभएसम्म सिंगो दलित समुदायले न्याय नपाउने बताए । उनले चौरजहारी हत्याकाण्ड मात्र नभई देशभर दलित समुदाय माथि हुने जातीय विभेदका घटना र अपराध बढेको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरे ।
प्रदर्शनमा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेललेसमेत ऐक्यवद्धता जनाएका थिए । प्रदर्शनमा नेकपा विराटनगर महानगर कमिटी सचिव हेम कार्की, कटहरी गाउँपालिका अध्यक्ष तथा दलित मुक्ति संगठनका नेता जितनारायण सरदार, दलित मुक्ति संगठन मोरङका प्mयाक्सन इन्चार्ज कपिल सुनार, राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्मालगायत जिल्लाका दलित अगुवाहरुको सहभागिता रहेको थियो ।

बिहिबार, आषाढ ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]