बिराटनगर, २२ असार । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस् प्रालिले विगत लामो समयदेखि कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार एवम् चलचित्र पत्रकार संघ नेपाल मोरङका अध्यक्ष प्रेम देवान (लुङवा) लाई सम्मान गरेको छ ।
कोशी फिल्मस्द्वारा निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ को प्रिमियर शोको अवसरमा कला र मनोरञ्जन क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार देवानलाई सम्मान गरेको हो ।
नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरको समन्वयमा शनिबार विराटनगको सिटी सिनेमा हलमा चलचित्र ‘चारदाम’ को प्रिमियर शो गरिएको थियो ।
प्रिमियर शोमा अन्य विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई समेत सम्मान र कदर पत्रसहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा कृष्ण भुषणवल प्रतिष्ठानका संरक्षक शोभा लामा वल, नेपाल तामाङ घेदुङ कोशी प्रदेश सदस्य गोविन्द तामाङ, नेपाल तामाङ घेदुङ महानगर अध्यक्ष विष्णु कुमारी तामाङ, संस्थापक अध्यक्ष कृष्ण मोक्तान, सल्लाहकार दावबहादुर घिसिङ महानगर सचिव विजय तामाङ, कोषाध्यक्ष रामकुमार योञ्जनलाई पनि कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
तामाङ समुदायको लोप हुन लागेको भाषा, भेषभुषा, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले तामाङ संस्कृृतिमा आधारित नेपाली चलचित्र ‘चारदाम’ विराटनगरमा प्रिमियर शो गरेको छ । सिटी सिनेमाको दुईवटै हल बुक गरेर विराटनगरमा रहेका विभिन्न जातिय संस्थाका अगुवा तथा पदाधिकारीलाई बोलार प्रिमियर शो गरेको थियो ।
फिल्म हेरिसकेका अधिकांशले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । ‘चारदाम’ मा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बालकलाकार सुम्निमा योञ्जन तामाङ, डम्बर कुमारी मेन्याङ्बो र मेनुका राईलगायत कलाकारको अभिनय रहेको छ ।
मोहन लोप्चन तामाङको प्रस्तुतिमा तयार भएको फिल्मलाई मैना घिसिङ, मदनबहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले संयुक्त निर्माण गरेका हुन् । फिल्मको छायांकन पुर्वका भोजपुर, सुनसरीको सप्तकोशी नदी, पूर्वी मोरङ लेटाङलगायतका विभिन्न रमणीयस्थलहरुमा छायांकन गरिएका दृष्य फिल्म देख्न सकिन्छ ।
यो फिल्मले हालै विराटनगरमा सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’ मा ‘बेस्ट सर्ट फिल्म’ को अवार्ड हात पारेको छ ।