बिराटनगर, ७ असार । विराटनगरको डन बस्को स्कुलले एसइइ अन्तरविद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुआत गरेको छ ।
विराटनगरको शहीद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । कुल ५० मिनेटको खेलमा जित हात पारेको डनबस्कोका लागि युनिक राई, निकुश खतिवडा र तनुज राजवंशीले गोल गरेका थिए । पहिलो खेलमा पराजित हुँदै विद्यालय फर्किएको सत्यनारायणका लागि साजीद आलम र भरतकुमार चौधरीले गोल फर्काएका थिए ।
प्रतियोगिताअन्र्तगत शनिबार ५ वटा खेल हुने आयोजक पोखरिया युथ केयर एकेडेमीका विक्रम कार्कीले जानकारी दिए । प्रतियोगिता संयोजक समेत रहेका कार्कीका अनुसार सुनसरी र मोरङका ४४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ८ सय ८० विद्यार्थी खेलाडी र ४४ प्रशिक्षक मैदानमा उत्रनेछन् । प्रतियोगिताको उपाधि भीडन्त असार १८ गते हुने उनले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष टीकाराम पुरी, महानगरपालिका–१ का वडाध्यक्ष काजी बस्नेत, विराट गोल्डकपका पूर्व अध्यक्ष सन्तोष बानियालगायतले गरेका थिए ।