२१ कार्तिक २०८१, बुधबार

चीना थापा

५ महिना अगाडि

करिब पाँचवर्ष अघि विराटनगरबाट ग्रामथान गाँउपालिका हुँदै विराट चौक पूर्व पश्चिम राजमार्ग पुग्न डेढ घण्टाको समय लाग्ने गर्दथ्यो । सडकको अवस्था स्तरीय नहुदाँ नीजि सवारी र सर्वसाधारण सुनसरीको इटहरी हुदै विराट चौक पुग्नुपर्ने बाध्यता रहेको थियो । सडक पूर्वाधारको निर्माणका लागि सो क्षेत्रका बासिन्दाले धेरैपटक केन्द्र सरकारलाई हार गुहार गरे । तर सुनुवाइ हुन सकेन् । अन्ततः संघीयतापछिको प्रदेश सरकार सडक संरचनालाई नै विकासको आधार मान्दै पहिलो गौरवको योजनाका रुपमा सो सडक निर्माणमा जुट्यो । तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ साल भदौ २३ सडक शिलान्यसा गर्दै तीन चरणमा पुरा गर्ने गरि सडक निर्माण कार्य अघि बढ्यो । कामपनि द्रुतगतिमा नै भयो । अहिले विराट चौक वा पूर्वबाट आएका सर्वसाधारणलाई प्रदेश राजधानी विराटनगर आइपुग्न आधा घण्टाको समय पनि नलाग्ने स्थानीयको भनाई छ । विराटनगर २ तीनपैनीका स्थानीय राम सापकोटाका अनुसार सडक निर्माणको केही कामबाहेक अरु पुरा हुदै गर्दा सर्वसाधारणलाई निक्कै सहज भएको छ । सापकोटा भन्छन्, “घिनाघाट—विराटचोक सडक निर्माण भएपछि निकै सहज भएको छ । पूर्वी क्षेत्रमा जागिर गर्नेहरु समयमा नै गन्तव्यमा पुग्छन् । सवारी चापले जाम होला की भन्ने डर हुँदैन । मोरंगको पूर्वी क्षेत्र पुग्न पहिले १० बजे पुग्न डेढ÷दुई घण्टा अगाडि विराटनगरबाट निस्कनुपर्ने बाध्यता हुन्थ्यो । अहिले त आधा घण्टा अगाडि निस्कियो भने सहजै पुगिन्छ । बाटो सफा र चौडा हुदाँ पूर्वतिर जानको लागि पनि निकै सहज भएको छ ।”
गन्तब्य पुग्नका लागि मात्र नभएर सडक निर्माणले कृषि, स्वास्थ्य लगायतलाई समेत सुविधा भएको स्थानीयको बुझाई छ। पूर्वी क्षेत्रमा उत्पादित कृषिजन्य बस्तु बजारसम्म पुर्याउनको लागि पनि कृषकलाई छोटो दूरीको यस सडक खण्डले निकै सहज बनाएको छ ।
कोशी प्रदेश सरकारको गौरवको आयोजना घिनाघाट–विराटचोक चार लेन सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले तीन प्याकेजमा विभाजन गरि २०७६ सालदेखि बनाउन सुरु गरिएको थियो । २२ दशमलव ५ किलोमिटरको सडकलाई सुरुआती दुई चरणमा समान १० किलोमिटर निर्माणका लागि ठेक्का लगाइएको थियो । त्यसपछि अर्को प्याकेजमा २ दशमलव ५ किलोमिटर सडक निर्माण हुने गरि प्रदेश सरकारले काम गरेको हो ।
विराटनगर प्रवेश गर्नका लागि कोशी राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको विराटचोक–घिनाघाट सडक कोशी प्रदेश सरकारको गौरवको आयोजना अन्र्तगत हो । यसको निर्माण कार्यका लागि प्रदेश सरकारले १ अर्ब ४० करोडको लगानी गरेको हो । ४ लेनको यस विराटचोक–घिनाघाट सडकखण्ड प्रदेशको पहिलो र नमुना सडक आयोजना हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार “भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा कोशी प्रदेश सरकारले गरेको लगानी पर्याप्त छैन। तर पनि हामीले सिमित स्रोत साधनको बाबजुत काम गर्ने प्रयत्न गरेका छौँ । प्रदेशका विभिन्न सामाजिक क्षेत्रका भवन, प्रहरी कार्यालय र सडक कालोपत्रे गर्ने काम हामीले गरिरहेका छौ । गौरवको आयोजनाको रुपमा विराटनगर विरोटचोक सडक एउटा उदाहरणका रुपमा लिन सकिन्छ । भौतिक पूर्वाधारको क्षेत्रमा पर्यटकीय गन्तव्य, पालिका जोड्ने सडक, रणनीतिक बाटाहरु, पुलहरु निर्माणमा काम भइरहेका छन् । तथापि यो पर्याप्त मान्न सकिदैन ।”

मुख्यमन्त्री कार्कीले भौतिक निर्माणमा प्रदेश सरकारले अझै काम गर्न सक्ने ठाँउ रहेको बताए ।“प्रदेश सरकारको प्रशासनिक भवन, जिल्ला र प्रदेश तहका मन्त्रालयका भवन, दुरगामी महत्व पार्ने सडकहरुमा काम गर्नु पर्नेछ”, उनले भने, “यी कामहरुलाई आगामी बजेटहरु मार्फत सम्बोधन गर्दै प्रदेशको विकास अगाडी बढाइने छ । यसले प्रदेशको समृद्धि र विकासमा सहयोग गर्छ ।”
प्रदेश विकासको लागि मेरुदण्डका रुपमा रहेको सडक सञ्जाल निर्माणका क्रममा कोशी प्रदेश सरकारले ५ आर्थिक बर्ष र चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्ममा ४७ वटा बहुवर्षीय सडक निर्माण कार्य सम्पन्न गरेको छ । त्यसैगरि, यसक्रममा विभिन्न स्थानमा ४ सय २६ दशमलव ५३ किलोमिटर सडकको ट्रयाक खुला गरेको भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी अयुष जोशीका जानकारी अनुसार यसबीच कोशी प्रदेश सरकारले १ हजार ३८ किलोमिटर सडक मर्मत कार्य गरेको छ । त्यसैगरि, विभिन्न क्षेत्रमा १ हजार २ सय २८ किलोमिटर सडक ग्रावेल गरेको छ । सूचना अधिकारी जोशीले १ हजार १ सय ३२ दशमलव ४ किलोमिटर कच्ची सडक र १७ दशमलव ४३ किलोमिटर सडक निर्माणका क्रममा आरसीसी÷पिसीसी गरिएको उनले जानकारी दिए । जोशीका अनुसार हालसम्म ४२ दशमलव ८३९ किलोमिटर सडक निर्माणमा सोलिङ्ग गरिएको र ५ सय ९ किलोमिटर सडक कालोपत्रे गरिएको छ।
प्रदेश सरकारले सडक सञ्जालसंगै विकट क्षेत्रमा, खोलानदीमा, पहाडी क्षेत्रमा सहज पहुँचका लागि झोलुङ्गे पुल निर्माण गरेको छ । मन्त्रालयका अनुसार चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्ममा १ सय ६४ वटा झोलुङ्गे पुल निर्माण भइसकेको छ । त्यसैगरि, ९६ दशमलव २४ वटा मोटोरेवल पुल निर्माण कार्य सम्पन्न गरेको मन्त्रालयका सूचना अधिकारी जोशीले बताए ।
सूचना अधिकारी जोशीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले कोशी प्रदेशका १४ जिल्लामध्ये विभिन्न ७ स्थानमा पूर्वाधार विकास कार्यालय मार्फत काम हुदै आएको छ । जसमा पूर्वाधार विकास कार्यालय, मोरङ अन्तर्गत २४ वटा बहुवर्षीय सडक र ७ वटा बहुवर्षीय पुल निर्माणाधीन अवस्थामा रहेकाछन् ।
त्यसैगरि, पूर्वाधार विकास कार्यालय, झापा अन्तर्गत १८ वटा बहुवर्षीय सडक र १७ वटा बहुवर्षीय पुल निर्माणाधीन अवस्थामा रहेकाछन् । मन्त्रालयका अनुसार पहाडी जिल्ला पाँचथरमा रहेको पूर्वाधार विकास कार्यालयले ७ वटा बहुवर्षीय सडक र ५ वटा बहुवर्षीय पुल निर्माण कार्यलाई गति दिएकाछन् । संखुवासभास्थित कार्यलयले ४ वटा बहुवर्षीय सडक र ४ वटा पुल निर्माणको चरणमा अघि बढाएको छ । पूर्वाधार निर्माणका क्रममा भोजपुरस्थित कार्यालयमा ९ वटा बहुवर्षीय सडक र ९ वटा बहुवर्षीय पुल निर्माणाधीन अवस्थामा रहेकाछन् । सूचना अधिकारी जोशीले उदयपुरमा ४ वटा बहुवर्षीय सडक र ४ वटा बहुवर्षीय पुल, ओखलढुंगा ६ वटा बहुवर्षीय सडक र ७ वटा बहुवर्षीय पुल निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए ।

आवास, भवन तथा शहरी विकास निर्माणमा अघि बढ्दै प्रदेश सरकार

सुशासन कायम राख्न प्रदेशमा शान्त वातावरण निर्माणका लागि सरकारले सुरक्षा निकायलाई समेत बलियो बनाउने कार्य गर्दै आएको छ । सुरक्षाका लागि खटिएका प्रहरीको कार्यसञ्चालन देखि बसोबास गर्ने स्थल निर्माणमा सरकार जुटेको छ । प्रदेश सरकारले विगतका ५ आर्थिक बर्ष तथा चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्ममा १३ वटा प्रहरी भवन निर्माण गरेको छ । जनतामा सुरक्षा र शान्ति अमनचैन कायम गर्न प्रदेश सरकारले संघीय सरकारको मातहतमा रहेको प्रहरीमा समेत ठूलो लगानी गर्दै आएको छ ।
मुख्यमन्त्री कार्कीले स्थानीय र संघीय सरकारबीच पुलको काम गरिरहेको प्रदेश सरकारले आफ्नो मातहतमा आई नसकेको प्रहरीमा पनि धेरै लगानी गरेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश प्रहरी ऐन निर्माणपछि एकप्रकारको वातावरण बन्ने र त्यसको पूर्वतयारीमा प्रदेश सरकार आफैले जनताको शान्ति सुरक्षामा खटिएको प्रहरीलाई दरिलो बनाउन सक्ने प्रयास गरिरहेको बताए ।
त्यसैगरि, विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रदेश सरकारको लगानीले प्रहरीको काम कार्वाहीमा ठूलो सहजीकरण भएको बताँउछन्। “प्रदेश सरकारले स्थानीय तथा संघीय सरकारको पुलको काम गर्ने पनि हो । प्रहरी औपचारिक रुपमा समायोजन नभईसकेको अवस्था भएपनि काम त प्रदेशमा नै बसेर गरिरहेको छ”, उनले भने, “प्रदेश प्रहरी कार्यालयको भवन पनि प्रदेश सरकारको नै लगानीमा बनेको हो । यसले अहिले हामीले काम गर्न सहज भएको छ । काम गर्नको लागि पहिला त राम्रो वातावरण पनि हुनुपर्छ । त्यसको लागि एउटा पाटो भवन पनि हो । भवन निर्माणसँगै मर्मतको लागि सरकारले निकै सहयोग गरेको छ ।”
उनका अनुसार भवन नहुँदा प्रहरीलाई बस्न खानको लागि समस्या हुने र यसले कार्य क्षमतामा प्रभाव पर्ने गर्दछ । जनतालाई शान्ति सुरक्षा दिने प्रहरी पनि सुरक्षित हुदाँ मात्र प्रभावकारी सेवा दिनसक्ने कोशी प्रदेश प्रहरी नायब महानिरीक्षक खापुङ्ग प्रस्टाउँछन्। कोशी प्रदेश सरकारले प्रहरीको क्षेत्रमा जति गर्नुपर्ने थियो त्यो भन्दा बढी नै गरेको उनको भनाई छ।
उनले भने, “कतिपय ठाउँमा पानी चुहिने भवनमा बसेर काम गर्दा गाह्रो हुन्थ्यो । जीर्ण भएका भवनमा बसेर कामकाज गर्न सहज थिएन । संघीयता लागु भएसँगै प्रदेश सरकारले पनि आवश्यकता अनुसार काम गरेको छ । यसले प्रहरीलाई पनि सहज तरिकाले शान्ति सुरक्षा प्रदान गर्न सहज भएको छ”।
यसबाहेक प्रदेश सरकारले विभिन्न स्थानमा १२ वटा सामुदायिक भवन तथा सभाहल निर्माण गरेको छ । सर्वसाधारणको कामकाजका लागि सहजीकरण हुने अपेक्षाका साथ थप १ सय ६३ वटा स्थानमा सामुदायिक भवन निर्माणाधीन अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश सरकारको बजेटमा विभिन्न स्थानमा ९ वटा सहकारी भवन निर्माण कार्य भइसकेकाछन् । त्यसैगरि, २१ वटा सरकारी भवन निर्माणाधिन अवस्थामा रहेकाछन् । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य लगानी गरेको छ । स्वास्थ्य क्षेत्रको भौतिक संरचना निर्माण गर्ने क्रममा विभिन्न ४ वटा अस्पताल भवन निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरि, प्रदेश सरकारले खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको छ । राष्ट्रिय गहनाका रुपमा रहेका खेलाडीलाई सहजीकरण हुनेगरि, प्रदेश सरकारले हासम्म ३ वटा स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिसकेको र ८ वटा निर्माणका क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै एकिकृत वस्ती विकास अन्र्तगत ५ वटा भवन निर्माण कार्य सम्पन्न भएका छन् । प्रदेश सरकारले एकीकृत विकासका अन्य १३ वटा संरचना निर्माणाधीन अवस्थामा रहेको जनाएको छ ।
प्रदेशवासीमा प्रदेश सरकारको अपनत्व बोध गराउने योजना अनुरुपको जनता आवास कार्यक्रम अन्र्तगत २ सय ७६ वटा घर निर्माण सम्पन्न गरिसकेको छ । यद्धपी, अन्य ९ सय ८२ वटा संरचना भने निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
सडक सञ्जाललाई विकास गर्दै गर्दा आवश्यक पर्ने बसपार्क निर्माणमा समेत प्रदेश सरकारले काम गरिरहेको छ । हालसम्म सरकारले विभिन्न जिल्लाको ३ स्थानमा बसपार्क निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
कोशी प्रदेशमा ३ वटा बसपार्क निर्माण सम्पन्न भएको छ भने ४ वटा बसपार्क निर्माणाधिन अवस्थामा रहेको छ ।त्यसैगरि, सौन्दर्यकरणका क्रममा प्रदेशका विभिन्न स्थानमा ६ वटा उद्यान निर्माण सम्पन्न भएको र ९ वटा उद्यान निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।
प्रदेश सरकारले हालसम्म ८ दशमलव ८३ किलोमिटर शहरी सडक ढलान गरेको छ । त्यसैगरि, करिब १३ दशमलव ६७ किलोमिटर सहरी ढलान निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले २ दशमलव ५० किलोमिटर शहरी सडक कालोपत्रे गरेको प्रस्टाएको छ । यसक्रममा २ किलोमिटर सडक भने निर्माणाधीन अवस्थामा रहेको छ।

वित्तीय प्रगती सुधारोन्मुख
आर्थिक बर्ष २०७९÷०८० मा १० अर्व २६ करोड बजेट विनियोजन रहेको मन्त्रालयले ८ अर्व ७९ करोड बजेट खर्च गरेको छ। जसमा ८५ दशमलव ७० प्रतिशत वित्तिय प्रगति प्राप्त गरेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक बर्षका लागि १२ अर्व ६५ करोड बजेट विनियोजन रहेको मन्त्रालयले तेस्रो त्रैमासिक सम्ममा ३ अर्व ९३ करोड खर्च गरेको जनाएको छ । जसमा वित्तीय प्रगति ३१ दशमलव ०६ प्रतिशत रहेको छ । आर्थिक बर्षमा अन्त्यसम्ममा यो बढ्ने अपेक्षा मन्त्रालयको छ ।
यसक्रममा आर्थिक वर्ष २०७८÷०७९ मा भने मन्त्रालयले सबै भन्दा बढि वित्तीय प्रगति गरेको आँकडा रहेको छ । सो वर्ष ९ अर्व ८६ करोड विनियोजित बजेट रहेकोमा ९ अर्व १९ करोड बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । जसमा ९३ दशमलव २ प्रतिशत वित्तीय प्रगति भएको देखिएको छ । आर्थिक बर्ष २०७७÷०७८ मा ११ अर्व ९ करोड बजेट विनियोजन रहेकोमा मन्त्रालयले ७ अर्व ३६ करोड खर्च गरेको आँकडा रहेको थियो । जसमा वित्तीय प्रगति ६६ दशमलव ३७ प्रतिशत मात्र रहेको छ । वित्तीय प्रगतिका क्रममा आर्थिक बर्ष २०७६÷०७७ मा मन्त्रालयले ७४ दशमलव ४५ प्रतिशत हासिल गरेको थियो । सो वर्ष २२ अर्व ११ करोड बजेट विनियोजन रहेको मन्त्रालयले १६ अर्व ४६ करोड बजेट खर्च गरेको थियो । त्यसैगरि, आर्थिक बर्ष २०७५÷०७६ मा ६ अर्व ९७ करोड बजेट विनियोजन रहेको मन्त्रालयले ५ अर्व ६ करोड बजेट खर्च गरेको थियो । जसमा७२ दशमलव ६ प्रतिशत वित्तीय प्रगति गरेको थियो । त्यसैगरि, मन्त्रालयले आर्थिक बर्ष २०७४÷०७५ मा २ अर्व ६४ करोड बजेट विनियोजन रहेकोमा १ अर्व ६५ करोड खर्च गरेको थियो । सो वर्ष मन्त्रालयले ६२ दशमलव ५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । यो वर्ष भने अन्य वर्षको तुलनामा सबै भन्दा कम वित्तीय प्रगति भएको थियो।
तीन तहको सरकारमा प्रदेश सरकारले विभिन्न प्रकारका आलोचना खेप्दै आएको छ । जनतामात्र नभएर बुद्धिजीवि समूहपनि प्रदेश सरकारको औचित्यबारे प्रश्न चिन्ह राखिरहदाँ प्रदेश सरकारले भौतिक निर्माणमा आफ्नो काम कार्वाही बलियो बनाएको छ। जसले प्रत्यक्ष रुपमा जनतामा सकारात्मक प्रभाव परेको छ । प्रदेश सरकारको औचित्य नभएको भन्ने जनगुनासो बढीरहदा भौतिक विकास निर्माणले यो भ्रमलाई चिर्ने प्रयास गरेको छ । राजनीतिक घटनाक्रमले प्रदेश सरकार एकातर्फ तरङगित भइरहदाँ सरकारको काम कार्वाहीमा भने कुनै अवरोध देखिएको छैन । सीमित स्रोत र साधनसंगै भौतिक पूर्वाधार निर्माण कार्य लक्षित समयभित्र सम्पन्न गराउन र जनतामाझ नयाँ पहिचान कायम राख्न प्रदेश सरकारको गतिविधी सकारात्मक बन्दै गएको छ ।

मुख्यमन्त्री कार्कीले हामीले गरेका कामहरुलाई व्यवस्थित रुपमा प्रचार गरेर भ्रमहरु चिर्ने बताए । उनले “भौतिक निर्माणमा प्रदेश सरकारले अझै काम गर्न सक्ने ठाँउ छ । प्रदेश सरकारको प्रशासनिक भवन, जिल्ला र प्रदेश तहका मन्त्रालयका भवन, दुरगामी महत्व पार्ने सडकहरुमा काम गर्नु पर्नेछ । यी कामहरुलाई आगामी बजेटहरु मार्फत सम्बोधन गर्दै प्रदेशको विकास अगाडी बढाइने छ । यसले प्रदेशको समृद्धि र विकासमा सहयोग गर्छ ।”
प्रदेशप्रतिको वितृष्णा खासमा हामीले गरेका कामहरुलाई नजिकबाट देखाउन नसक्दा पनि बढिरहेको बताउँदै कार्कीले आगामी दिनमा हामीले गरेको काम जनतालाई देखाउँदै र त्यसको प्रभावको बारेमा जानकारी दिने प्रयत्न गर्ने बताए । “हामीले सेवा क्षेत्रमा गरिरहेका कामहरुले जनतालाई कसरी सँगसँगै लैजान सकिन्छ त्यस विषयमा समेत काम गरेर अगाडी बढ्ने योजना छ”, उनले भने, “प्रदेशले सडक कालोपत्रेदेखि अन्य थुप्रै भवन र पर्यटकीय गन्तव्यमा लगानी गरेको छ । यसले विस्तारै जनतामा रहेको वितृष्णा र भ्रमहरु हराउँदै जानेछन् ।”

आइतबार, आषाढ ०३, २०८१मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]