विराटनगर, २ जेठ । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा भएको पहिलो खेलमा जोगवनीले घरेलु टिम बिसीसीए विराटनगरललाई ६२ रनले र दोस्रो खेलमा सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै दुई टिम अन्तिम आठमा पुगेको हो ।
टस जितेर ब्याटिङ रोजेको जोगवनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २५१ रन बनाएको हो । जोगवनीका असिक कुमारले अर्धसतक पूरा गरे । उनले १९ बलमा ५ छक्का र ३ चौका हिर्काउँदै ५० रन बनाए । सर्वाधिक रन बनाउने खेलाडी असिक खेलको प्लेर अफ द म्याच घोषित भए । यशदर्शन कुमारले १८ बलमा ४६ रन पारी खेल्दा राजा बावुले ३७ बलमा ४४ रनको योगदान दिए । उत्तम कुमारले अविजित २३ रन बनाउँदा कोनाइव कुमारले २० रन बनाए ।
विराटनगरका कार्तिक कुमारले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । आयुष कुमारले २ विकेट र अशुतोष सिंहले १ विकेट लिए ।
जोगवनीले दिएको २५२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले सबै विकेट गुमाइ १८९ रन मात्रै बनाउन सक्यो । विराटनगरका अशुतोष सिंहले २४ बलमा ३९ रन बनाए । धिरज कामतले २१ बलमा २९ रन बनाउँदा हर्ष यादवले २१ रनको योगदान दिए ।
जोगवनीका अबिशेष राजा, नवित, जयन्त कुमारले समान २–२ विकेट लिए ।
दोस्रो खेलमा सुनसरीको जित
सुनसरी क्रिकेट क्लबका खेलाडी रविन मण्डलले जितको लागि आक्रमक ब्याटिङ गर्दै अर्धसतक पूरा गरेका छन् । उनले ४७ बलमा ८८ रन बनाउँदै निर्धारित २० ओभरमा ९ विकेट गुमाई १६६ रन बनाएको हो । सुनसरीका सविन यादवले १८ बलमा २९ रन पारी खेल्दा समिरले १२ रनको योगदान दिए ।
मिल्स क्रिकेटको तर्फबाट गुल्सन कुमार राजले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । पुस्कर झाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट र रितेस सिंहले १ विकेट लिए ।
१६७ रनको विजय लक्ष्य पछ्याएको आयोजक मिल्स क्रिकेटले १८.२ ओभरमा १० विकेट गुमाई १५५ रन मात्रै बनायो । जसमा कुमारले ३१ बलमा अर्धसतक कटाउँदै ७१ रन बनाए । झोला साहले २५ बलमा ३० रन ल्याउँदा बुद्रा कुमारले २४ रन बनाए ।
सुनसरीका बलर प्रकाश कार्कीले कसिलो बलिङ गर्दै ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । भुपाल लुईटेलले २ विकेट लिए । बिपोस्टिङ बलिङ गर्ने सुनसरीका प्रकाश खेलको प्लेर अफ द म्याच घोषित भए । उनले नगद तीन हजार पाए ।
बिहीबारको पहिलो क्वाटर फाइनल खेल जोगवनीको प्रशान्त क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लबबीच हुने तालिका छ ।