बिराटनगर, ५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार जिम्मेवार रुपमा सडक दुर्घटनाबाट जनताको अकाल मृत्यु हुने कार्यको न्यूनिकरणका लागि कार्य गरिरहेको बताउनु भएको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश ट्राफिक कार्यालयद्वारा विराटनगर रानी भारतीय सीमा क्षेत्रमा ‘सुरक्षित सडकका लागि चालकको लागु औषध÷मादक पदार्थ सेवन तथा आँखा जाँचको कार्यको शुक्रबार शुभारम्भ गर्दै उहाँले चालकलाई अनुशासित बनाई सडक दुर्घटना न्यूनिकरण गरी चालक, यात्रु तथा वटुवाको जीवन बनाउन यस कार्यको मुख्य उद्देश्य रहेको प्रष्ट पार्नु भयो ।
मुख्यमन्त्री कार्कीले सर्वसाधारणको ज्यान जोगाउन चालकको मापसे तथा लापसे जाँच शुरु गरिएको बताउँदै चेकजाँच प्रदेशका सबै जिल्लामा संचालन हुने जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो– सरकारको यो अभियान जीवन बचाउ भएको हो, घर परिवार र समाज बचाउ अभियानमा सबैको सहयोग आवश्यक रहेको छ’ ।
सोही अवसरमा मुख्यमन्त्री कार्कीले लागु औषधि सेवन चेकजाँच किट प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई हस्तान्तरण गर्नुभयो ।
उक्त जाँच कार्य शुक्रबारदेखि मोरङको रानी, मोरङ वुढीगंगाको निमुवा तथा झापाको सीमा क्षेत्र काकडभिट्टामा शुरु गरिएको छ ।
रानीमा शुक्रबार २० जनामा लागु औषध सेवन चेकजाँच गरिएकोमा शत प्रतिशत सेवन गरिएको पाइएको लागु औषध नियन्त्रण व्यूरोका प्रहरी वरिष्ठ नायव निरीक्षक दिपक यादवले बताउनु भयो ।