२६ माघ २०८१, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा नदिएकै कारण बेरोजगारी समस्या बढ्दै गएको बताउनु भएको छ ।
प्याब्सन मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिक र व्यवहारिक शिक्षालाई सँगसँगै अगाडि बढाएमात्रै उत्पादित जनशक्तिले रोजगारी प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले चार वटा विषयमा डिग्री हासिल गरे पनि सीप छैन भने रोजगारी पाउने अवस्था नरहेको प्रस्ट पार्नुभयो ।
“अंग्रेजी, नेपाली, वाणिज्य, राजनैतिक सबै विषयमा डिग्रीको सटिर्फिकेट छ तर उसमा सीप छैन भने सटिर्फिकेटका आधारमा जागिर पाउने अवस्था छैन अहिले,” उहाँले थप्नुभयो, “डिग्री आफ्नै ठाउँमा छ तर त्यो भन्दा महत्वपूर्ण व्यवहारिक र सीपमूलक शिक्षा आजको आवश्यकता हो ।
नेपालमा मात्रै होइन विदेश जाँदा पनि राम्रो सीप सिकेर गएको छ भने राम्रै पैसा कमाउने अवस्था छ नत्र भने सामान्य काम मात्रै पाइन्छ र त्यसबापत प्राप्त हुने पैसा पनि कमै हुन्छ ।”
घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्नेको आग्रह थियो । विद्यालय तहदेखि नै व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश–विदेशको श्रमबजारमा बिक्न सक्ने मेयरको भनाइ थियो । हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेको बताउँदै त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेको उहाँले सुनाउनुभयो ।
त्यस्तै अध्ययनका लागि विदेश जानु नपर्ने गरी विराटनगरमा गुणस्तरीय शैक्षिक संस्थाहरु खुलेको बताउँदै मेयर कोइरालाले भन्नुभयो, “तर अझै पनि विदेश जाने प्रवृत्ति रोकिएको छैन । झनै बढेर गएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा अध्ययनकै लागि नेपालीले १ खर्ब ४२ अर्ब रुपैंया विदेश पठाएका छन् । जसले गर्दा नेपाली मुद्रा विदेशिएको छ ।”
निजी विद्यालयहरुको छाता संगठन प्य(ाब्सनले विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढाउन विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने गरेको भन्दै उहाँले प्रशंसासमेत गर्नुभयो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको जारी अभियानलाई साथ दिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रयमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, कोशी प्रदेश अध्यक्ष टीकाराम ढकाल, मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, सचिव जगत बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा मोरङका ४० वटा विद्यालयको सहभागिता रहेको कार्यक्रममा संयोजक भक्तराज सुब्बाले जानकारी दिनुभयो ।

बुधबार, भाद्र २७, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]