विराटनगर, २९ फागुन । विराटनगरमा रहेको तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निक्षेपकर्ताको रकम ठगी गरेको अरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
विराटनगर–२ मा कार्यालय रहेको सहकारीले बचतकर्ताको रकम ठगीको आरोपमा तीन जनालाई पक्राउ गरिएको र थप ८ जनालाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलले २१ हजार ७१३ सदस्य रहेको सहकारीमा विराटनगरमा मात्र ४ हजार बढी सदस्य रहेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिए । मुख्य कार्यालय मोरङको विराटनगरमा भई झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा ३ वटा सेवा केन्द्रमार्फत यस सहकारीले कारोवार गरेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले सहकारीका क्षेत्रीय प्रवन्धकसहित ८ जना पदाधिकारहरूका विरूद्धमा जाहेरी दरखास्त प्राप्त हुन आएको जनाएको छ । ८ जना मध्ये उर्लाबारी नगरपालिका वडा नं. ६ घर भई संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापाको भद्रपुर नगरपालिका–१४ घर भई जिल्ला विराटनगर महानगरपालिका–३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने र विराटनगर–२ बस्ने तुलसी सहकारी संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवाससहितलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । अन्य ५ जना पदाधिकारीहरुको खोजी कार्य जारी रहेको उनले बताए ।
नेपाल भरी नै कार्यक्षेत्र रहने गरी मिति २०५२ चैत १३ गते सहकारी विभागमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्था तत्कालीन विराटनगर–३ हाल बिराटनगर–२ मा संचालित छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको देशैभरी सदस्य संख्या २१ हजार ७१३ जना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत फागुन १ गतेदेखि उक्त सहकारी संस्थाको कार्यालय बिना जानकारी बन्द भएपछि समस्या शुरु भएको थियो । संचालन समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भई बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेका थिए । बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारेर ठगी गरेको आरोप बचतकर्ताले लगाएका छन् ।
सहकारी संस्थाको केन्द्रीय कार्यालयसमेत बन्द भई संचालकहरु नै फरार भएपछी आफूहरु ठगीमा परेको थाहा पाएर फागुन २८ गते १२१ जना पीडितहरूले उजुरी दिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । ‘पहिलो चरणमा उजुरी दिनेहरु मध्ये १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपंैया बराबरको रकम ठगी गरेको भनी रमा पौडेलसमेत १२१ जना पीडितहरुले ठगी कसुरअन्तर्गत प्रहरीमा जाहेरी प्राप्त भएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने, हालसम्मको प्रारम्भिक अनुसन्धानबाट योजनावद्ध तरिकाले ठुलो रकम हिनामिना गरी संस्थाका सदस्य एवं बचतकर्ताहरूलाई ठगी गरेको देखिन आएको छ ।’
मोरङ जिल्लामा रहेको तुलसी सहकारी संस्थामा बचत गर्ने बचतकर्ताहरु, पीडितहरुले ५ दिन भित्रमा जिल्ला प्रहरी कार्यालय मोरङमा आई जाहेरी दरखास्त दिनुहुन प्रहरीले अनुरोध गरेको छ ।
हाल ठगी मुद्दामा पक्राउमा परी अनुसन्धानको क्रममा रहेका उपाध्यक्ष गौतम र न्यौपानलेलाई प्रहरीले यसअघि अभद्र ब्यवहार मुद्दामा अनुसन्धान गरेको थियो । उक्त संस्थाका केही बचतकर्ताहरू आफ्नो बचत गरेको पैसाको बारेमा बुझ्न फागुन १ गते जाँदा अनिता गौतम र सविना न्यौपानेले बचतकर्ताहरूलाई अश्लिल बोली प्रयोग गरी बादविवाद गरी हैरानी दिएको कारण निजहरूलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा दर्ता भई अनुसन्धान कार्य सम्पन्न गरेको पनि प्रहरीले जनाएको छ ।