२१ कार्तिक २०८१, बुधबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

विराटनगर, २२ जेठ । राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाएको छ ।
पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको सहयोग र परिवर्तनका लागि हातेमालो अभियान विराटनगरको समन्वयमा राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै दिवस मनाएको हो ।
१४ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका सन्दर्भमा मोरङको रंगेली–७ स्थित विश्वकर्मा टोलका सबै परिवारलाई राहत वितरण गरेको छ । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका विश्वकर्मा टोलका अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्माले मुलुक छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १४ वर्ष नाघे पनि दलित समुदाय माथि गरिने विभेदको अन्त्य नहुनु दुखद् भएको बताए । उनले राज्यले विभेद अन्त्यका लागि बनाएका ऐन कानुनहरु कडाइका साथ कार्यान्वयन नहुँदा छुवाछुत तथा जातीय विभेद अन्त्य नभएको दावी गरे ।
अध्यक्ष विश्वकर्माले जातीय विभेद र छुवाछुत गर्नेविरुद्ध सरकार कडा ढंगले प्रस्तुत हुनुपर्ने र सरोकारवालाहरुले पनि खबरदारी गर्नुपर्नेमा जोड दिए । उनले जातीय विभेदकै कारण रुकुम पश्चिम चौरजहारी हत्याकाण्ड भएको बताउँदै यस्ता घटना भइरहे जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको कुनै अर्थ नरहने बताए ।
उनले सो हत्या काण्डलाई क्रुर मानव नरसंहारको संज्ञा दिँदै दोषीलाई हदैसम्म सजायको माग गरे । अध्यक्ष विश्वकर्माले उक्त हत्या काण्डका दोषीलाई उन्मुक्ति दिन खोजिए सिंगो दलित समुदाय टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिए ।
सो अबसरमा परिवर्तनका लागि हातेमालो अभियान विराटनगरका अध्यक्ष तथा दलित अभियान्ता विनोद चाहार (परियार) ले संवैधानिक अधिकार रक्षाका लागि सिंगो दलित समुदाय एक जुट हुनुपर्ने बताए । उनले मुलुकमा विभेद र छुवाछुत अन्त्यका लागि दलित र गैरदलितबीच हातेमालो गर्दै खबरदारी अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष चाहारले दलित अधिकार संरक्षणका लागि सर्वपक्षिय खबरदारी अभियानका लागि समिति गठन गर्नुपर्नेमा जोड दिंदै केही समय भित्रै प्रदेश १ बाट त्यसको सुरुवात गरिने जानकारी दिए ।
दलित अभियन्ता वर्षा गजमेरले जातीय विभेद र छुवाछुत अन्त्यका लागि दलित समुदायलाई आर्थिक रुपले सवल बनाउनुपर्ने बताइन् । राहत वितरणमा रंगेली–७ कि वडा सदस्य रुपा विकले दलित अधिकार रक्षाका निम्ति सबै वडाका दलित महिला सदस्यहरुको क्षमता विकास गरिनुपर्नेमा जोड दिइन् ।
सो कार्यक्रममा विश्वकर्मा टोलका सबै परिवारलाई वडा सदस्य रुपा विक, संघका मोरङ अध्यक्ष किशोर विश्वकर्मा, उपाध्यक्ष खड्ग वेदना (परियार), परिवर्तनका लागि हातेमालो अभियान विराटनगरका अध्यक्ष विनोद चाहार, दलित अभियान्ता वर्षा गजमेरलगायतले चामल, दाल, खाने तेललगायतका राहत सामग्री सामाजिक दुरी कायम गर्दै वितरण गरेका थिए ।
२०६३ साल जेठ २१ गतेका दिन पूनस्र्थापित संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।

बिहिबार, जेठ २२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]