बिराटनगर, ५ माघ । सुनवर्शी–३ का मदनकुमार राजवंशी स्नातकोत्तर पढ्दै छन् । पढ्दै स्थानीय एउटा बिद्यालयमा पढाउँदै आएका राजवंशीले जेठानबाट नै जापान लैजाने कुरा सुने । विद्यालयले पढ्दादेखिका साथी कलेज प्लस टु सम्मका साथी अजय राजवंशी पछि जेठान बने । साथीदेखि पारिवारि साईनो रहेका उनले आफूलाई यसरी ठग्छन् भन्ने मदनले कल्पनासम्म पनि गरेका थिएनन् ।
मदनले जापानमा यस्तो हुनुनपर्ने भनेर प्रश्न पनि गरे । तर, अजयले उनलाई विश्वास दिलाए र धेरै पैसा कमाउने सपना पनि बाँडे । ‘यसरी विश्वास दिलायो की म पत्याउन बाध्य भए’, उनले भने, ‘थाहा हुँदा हुँदै पनि फसियो’ ।
उनले दुई पटकमा १६ लाख जापान जाने नाममा दलालको खातामा पठाए । उनले फिरोज कार्कीको नाममा ५ लाख, रञ्जीत राजबंशीको नाममा ११ लाख पठाएको बताए ।
उनका जेठान सुनवर्सी–६ का अजय राजबंशी हुन् । जेठानले भनेपछि विश्वास गरेर पैसा पठाएको उनी बताउँछन् । जेठान दलाल मध्येका एक हुन् । जापान जाने बारेमा दलालको फन्दामा पर्नेमा सबै परिवार नाताभित्रका सदस्यहरु छन् ।
कटहरी–३ का विवेक राजबंशी अष्ट्रेलिया जाने तयारी गर्दै थिए । उनलाई पनि अजयले अष्ट्रेलिया जान समय लाग्छ, जापानमा छिट्टै हुन्छ भने । स्नातक पढ्दै गरेका विवेकले मासिक चार लाख रुपैंया कमाई हुने आश्वासनमा १८ लाख पैसा बुझाए । ‘तिम्रो लागि राम्रो हुन्छ, २÷४ लाखको के मुख हेर्छौं भनेपछि मैले पैसा पठाए’, उनले भने, ‘घर जग्गा धितोमा राखेर ऋण लिएको छ, अहिले यता न उता भईयो ।’
मोरङको सुनवर्सी नगरपालिका–९ की कल्पना राजबंशीलाई आफ्नै पर्नेले जापान जान पाईन्छ भनेर सुनाए । उनको परिवार भित्रैका अजय राजबंशीमार्फत उनी जापान जाने मनस्थितीमा पुगिन् । ब्याचलर पढेर बसेकी कल्पनालाई जापान जान पाए प्रसस्त पैसा कमाईहुन्थ्यो भन्ने लाग्यो ।
आफन्तरहरुबाट नै जापानमा गार्मेन्ट उद्योगमा मजदुरको रुपमा काम गर्न पाईन्छ भन्ने भएपछि उनी रोजगारीकोलागि जापान जान तयार भईन् । उनका श्रीमान र एक बच्चा सहितको परिवारमा जापान जाने कुराले केही सकारात्मक सञ्चार भयो । उनका श्रीमान् गाउँमै पसल गर्छन् ।
कल्पनाले ४ लाख पठाएको बताईन् । ‘पैसा लग्दै गर्दा ति ब्यक्तिहरुले भाषा पनि सिक्न पर्दैन भने, उनले भनिन्, अन्तरवार्ता दिनु पर्दैन भनियो, राम्रो हुन्छ भन्ने लागेरै पैसा तिरेँ ।’
कल्पनाका अनुसार, एप्लाई गर्न भन्दा पहिला १ लाख ५० हजार, त्यसपछि फेरी १ लाख ५० हजार दिनु पर्ने भनियो । यो बेलासम्म मैले ३ लाख दिई सकेकी थिएँ । पछि फेरी बाँकी पैसा २ लाख मागियो । बिभिन्न नाममा पैसा माग्दै पैसा जम्मा गर्न दवाव दिएको उनले सुनाइन् । ‘२ लाख मागेका थिए, मैले त्यो बेला पैसा नभएको कारणले १ लाख ३० हजार मात्र दिएँ, उनले भनिन्, पैसा जसरी पनि हाल्न दवाव दिएपछि पैसा दिएको थिएँ, पैसा नदिए भिसा क्यान्सिल हुन्छ, त्यसमा १० प्रतिशत कटेर पैसा फिर्ता हुन्छ भनेका थिए ।’
यस्तै जापान लग्ने भनेर ठगिएकी विराटनगर–१९ घिनाघाटकी डाफुसरी राजबंशी पनि हुन् । उनलाई पनि जापान पठाईदिने भन्दै दलालले ७ लाख रुपैंया माग गरे उनले पनि ऋण लिएर तथा घरमा भएका पैसा जम्मा गरेर पठाईन । उनी ३५ बर्षकी भईन् । एसएलसी मात्र पास गरेकी उनलाई ३७ बर्षसम्म जान मिल्ने भनेपछि जापान जाने तयारी गरेकी थिईन् ।
पैसा बुझाएर जापान जान नपाएका पीडित युवाहरुले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आपूmहरुको बाध्यता सुनाएका थिए । पत्रकार सम्मेलनमा आफन्त भित्रै एकले अर्कोलाई भन्दै फलानो जाँदै छ भन्ने हल्लाले नै धेरै व्यक्तिहरु ठगिन पुगेका पिडितहरुले बताएका थिए ।
पहिला ५० वटा कोटा छ भनेका अजयले पछि ५० वटा छ भन्दै एकले अर्कालाई भन्न लगाएका पिडितहरुको गुनासो छ ।
हरिबाट अजयले १४ लाख माग गरेकोमा ८ लाख बुझाएको उनले बताए । हरि अजयका फूपूका छोरा हुन । ‘म कतारमा काम गर्दै थिएँ, उनले भने, नेपाल फर्किएर राम्रो पैसा कमाउन जापान जाने लोभमा आएँ, भएभरको पैसा सबै बुझाएँ, अहिले दलालले हामीलाई फसायो ।’ ‘दाईले फसाउँदैन होला भन्ने लागेर विश्वास गरे’ उनले भने ।
जापान गएर राम्रो पैसा कमाई हुन्छ भनेर फस्नेमा विराटनगरका मात्र हैन, झापाको कन्काई नगरपालिका–१ का भवानीप्रसाद अधिकारी पनि परेका छन् । तुरुन्तै जापान जान पाईन्छ भनेर ८ लाख दिएको अधिकारीले बताए ।
मोरङबाट अजयको सम्पर्कमा भएका ४० जना नै राजबंशी समुदायका छन् । एकजना झापाका अधिकारी आफन्तकोमा आउँदा यो कुरा थाहा पाएका थिए । आफन्तमार्फत जोडिएका थिए ।
चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजबंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरुसँगको सम्पर्कमा थिए धरानका मिन्चीरा ताम्रकार, ठेगाना नखुलेका ज्योती घले, कर्णकुमार दवाडी ।
यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवाहरुलाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजय राजबंशीलाई जापान जाने युवा खोजेर पैसा संकलन गर्ने जिम्मा लिएर आफन्तहरुलाई नै भनेको पिडितहरुको भनाई छ ।
जापानको हल्ला गत चैत्रदेखि सुरु भएको थियो । बैशाखदेखि पैसा खोज्ने र जम्मा गर्न थालिएको थियो । राजेन्द्रले सामान्य जापानिज भाषा जान्नेहरुलाई लान सकिने भनेपछि पैसा बुझाएका युवाहरुले विराटनगरको इडुमार्कमा अध्ययन गरे । उनीहरुलाई त्यहाँ अजयकी बहिनी विद्या र उनकी बुहारी अनुराधाले पढ्न लगेका थिए । बिद्या विराटनगरको ट्राफिक चौकमा रहेको सिआईटी कम्प्यूटर इन्ष्टिच्यूटमा र अनुराधा गुरुकुल कन्सल्टटेन्सीमा काम गर्दै आएका थिए ।
पैसा दिएपछि भाषा सिक्नुपर्ने, गाडि सिक्नुपर्ने, भन्दै अन्य खर्च पनि गराएको पिडितहरुको गुनासो छ ।
उनीहरुमध्ये बिद्या अजयकी बहिनी हुन् । अनुराधा अजयका भाई र विद्याका दाजु रन्जितसँग नजिक थिइन् । जापान जाने भनेपछि अनुराधा र रन्जित विवाह बन्धनमा बाँधिए । राजेन्द्रले युवाहरुलाई ठग्ने नियत राखेपछि जापान जान तयार भएका युवाहरुले जम्मा गर्ने पैसा अजयका भाई रन्जित, बुहारी अनुराधा र बहिनी विद्याको नाममा जम्मा गर्न लगाए । सुरुसुरुमा राजेन्द्रको नाममा समेत पैसा जम्मा गर्न लगाइएको थियो ।
मुख्य योजनाकार भनिएका राजेन्द्र अजयले उठाएको रकम लिएर पुनः जापान गएको पिडितहरुले बताए । उनीहरुका अनुसार अजयसहित उनका भाईबुहारी रन्जित–अनुराधा र बहिनी विद्या फरार छन् । उनीहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका छन् । वैदेशिक विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगि कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको छ ।
कानुनी उपचारको खोजीमा रहेका उनीहरुले अजयसहित उनका भाई–बुहारी र बहिनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । त्यसका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा व्यक्ति उपस्थित गराउन निर्देशन भएको छ ।
नक्कली सिओई लेटर बनाएर राजेन्द्रले अन्तिम किस्तासम्मको रकम हाल्न लगाएका थिए ।
रंगेली नगरपालिका–८ का राजेश्वर राजबंशीले गत पुस १५ गते मात्रै आफूहरुले नक्कली सिओई लेटरमा पैसा जम्मा गराएर ठगिएको जानकारी पाएको बताए ।
रकम जम्मा गर्ने युवाहरुले ८ लाख, ७ लाख, ८ लाख, १० लाख हुँदैछ एक जनाले १६ लाख र एक जनाले १८ लाखसम्म बुझाएका छन् । उनीहरुले बैंकमा जम्मा गरेको पैसा बाहेक नगदसमेत बुझाएका थिए ।
अजय राजबंशी सुनवर्सी नगरपालिकाका मेयरका भाञ्जा भएको पीडितको भनाई छ । केहि दिन अगाडि मेयरले नै कुराकानी गरेर म जिम्मा लिन्छु भनेपनि अहिले वास्ता नगरेको पीडितहरुको गुनासो छ ।