बिराटनगर, २६ मंसिर । चर्को बैंक व्याजदरको विषयमा राष्ट्रबैंक गम्भिर नभएको भन्दै विराटनगरका उद्योगी व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् ।
विराटनगरमा सोमबार नेपाल उद्योग परिसंघ, प्रदेश नं. १, मोरङ व्यापार संघ, बिराटनगर, उद्योग संगठन मोरङले संयुक्त आयोजना गरेको छलफलमा आन्दोलनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा बस्तुगत संस्थाहरुसंग रायसहित प्रतिवद्धता लिएको छ ।
सरकार तथा राष्ट्र बैंकले उद्योगी व्यवसायिको मागप्रति चासो नदिएको भन्दै अब आन्दोलनबाट निकाश खोजिने उद्योगी व्यवसायिले बताएका छन् । आफ्ना माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने पनि उनीहरुले उद्घोष गरेका छन् ।
केही दिन अघि पनि तीन व्यवसायिक संगठनले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर मौद्रिक नीति समिक्षा नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ समितिले संयुक्त रुपमा आन्दोलनमा जाने घोषणा गरेका हुन् । उनीहरुको आन्दोलनलाई अन्य विभिन्न व्यवसायिक संघ संस्थाले पनि साथ दिने प्रतिवद्धता जनाएका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बैंकर र उद्योगी छुट्याउनु पर्ने बताए । बैंकर उद्योगी एउटै भएका कारण पनि समस्या आईरहेको उनको भनाई छ ।
रिजालले स्प्रेड दरलाई ३ दशमलव ५ प्रतिशतमा झारिनुपर्ने, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कम्तीमा ३ वर्षका लागि स्थगित गरिनुपर्ने र वार्षिक कारोबारको २५ प्रतिशत मात्र कर्जा लिन पाइने नियमलाई ६० प्रतिशत निर्धारण गरिनुपर्ने लगायतका माग आपूmहरुको रहेको जानकारी दिए ।
अध्यक्ष रिजालले सीडी रेसियोका सट्टामा सीसीडी रेसियोलाई आगामी ३ वर्षसम्म ९० प्रतिशत कायम गरी तरलताको समस्यालाई सुधार गर्नुपर्ने बताए । उनले ४ प्रतिशत बनाइएको सीआरआरलाई पनि ३ प्रतिशतमा फर्काउनुपर्ने बताउँदै सीआरआरमा यसै वर्षदेखि भएको १ प्रतिशत वृद्धिले बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य ५१ अर्ब रुपैंया केन्द्रीय बैंकमा थन्किएर बसेको बताए ।
उनले बैंकले आधार दरको निर्धारण गर्दा पारदर्शिता नअपनाएको भन्दै बैंकले के आधारमा आधार दरको निर्धारण गरेको हो भन्ने कुरा ऋणीलाई स्पष्ट रूपमा बताउनुपर्ने बताए ।
समस्याको विषयमा सरकार र राष्ट्र बैंकलाई जानकारी गराउँदा पनि नसुनेका कारण आपूmहरु सडकमा जान बाध्य भएको उनले बताए । अब सडकमा ओर्लिएपछि हामी माग पूरा नभएसम्म निरन्तर आन्दोलन गर्ने उनले बताए ।
नेपनल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरेले छलफलमा भएको निर्णय सुनाउँदै दुई दिन भित्रमा आन्दोलनको स्वरुप बारेमा सबैलाई जानकारी गराउने बताए । सबै उद्योगी व्यवसायि संघ संस्थाका अध्यक्षहरुको बैंठक बसी तय गरिने आन्दोलनको स्वरुप चार दिन भित्रमा आन्दोलन शुरु गर्ने र माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
सबै उद्योगी व्यवसायिका संघ संगठनका तर्फबाट अत्याधिक सहभागिता गराई आन्दोलनलाई अगाडि बढाउने तयारीमा आपूmहरु रहेको उनले बताए । पटक पटक आपूmहरुले ध्यानाकर्षण गराए पनि सरकार मौन रहेको र राष्ट्र बैंकले पनि चासो नदिएका कारण बाध्य भएर सडक आन्दोलनमा जान बाध्य भएको उनले बताए ।
उद्योगी पवन सारडाले उद्योगी व्यवसायिले शान्तिपूर्ण तरिकाले राखेको माग सरकारले नसुन्ने बताए । उद्योगी व्यवसायिलाई जे गरे पनि सुःख नहुने भन्दै उनले समस्याको बारेमा बोल्दा उद्योगी व्यवसायिले बोल्ने होईन बोल्ने हो भने राजनीतिमा आउन भन्ने र राजनीतिमा जाँदा उद्योगी व्यवसायिले राजनीति गर्ने हो भन्ने खालका अभिव्यक्ति सुन्नु पर्ने बताए ।
उद्योगी व्यवसायिक संस्थाहरु एकजुट भएर अघि नबढ्ने हो भने मागहरु पुरा हुन नसक्ने उनको भनाई छ । उद्योगी व्यवसायि एकजुट भए सरकार पनि झुक्न बाध्य हुने उनले बताए ।
उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले नसुनेका कारण आन्दोलनमा जानुपरेको उल्लेख गरे ।