विराटनगर, ११ मंसिर । युवा उद्यमीहरुको व्यवसायमा प्रवद्र्धन तथा युवा उद्यमीको सवालमा आवाज उठाउने उद्देश्यले नेपाल उद्योग परिसंघले युवा उद्यमी च्याप्टरको प्रदेश १ समिति गठन गर्ने भएको छ ।
केन्द्रमा युवाहरु सम्मिलित च्याप्टर गठन गरेको पाँच वर्षपछि प्रदेश १ मा पहिलो प्रादेशिक युवा उद्यमी च्याप्टर गठन गर्न लागिएको जनाईएको छ ।
युवा उद्यमी च्याप्टर गठनको आधिकारिक घोषणा सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर गरिने नेपाल उद्योग परिसंघ युवा उद्यमी च्याप्टरका सह–संयोजक अनमोल प्रधानले जानकारी दिए ।
युवा उद्यमी च्याप्टर गठनको बारेमा जानकारी दिनको लागि आईतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानले युवाहरुलाई संगठन र व्यवसायको नेतृत्व गर्न परिपक्क बनाउने उद्देश्यले च्याप्टर गठन गर्न लागिएको बताए । पहिलो चरणमा प्रदेशभरका ५० स्टार्टअप उद्यमी–व्यवसायीको उपस्थितिमा च्याप्टरको गठन गरिने पनि उनले बताए ।
साना तथा मझौला उद्योगको प्रवद्र्धन र त्यसको नेतृत्व विकासमा सहयोग गर्ने र स्टार्टअपहरुलाई क्रमशः ठूला उद्योगको नेतृत्व गर्ने क्षमता विकास गराउने लक्ष्य राखिएकोले प्रदेशभित्र लगानी संभावनाका क्षेत्रमा आकर्षित गरिने उनको भनाई छ । प्रधानले एकै पटक व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दा सफल हुन नसक्ने भएकाले संगठनबाट नेतृत्वको विकास गर्दै औद्योगिक व्यवस्थापकीय क्षमता अभिबृद्धि गर्ने लक्ष्य च्याप्टरले लिएको बताए ।
नेपाल उद्योग परिसंघले सन् २०१७ जुनमा काठमाण्डौं च्याप्टर गठन गरेको थियो । त्यसले केन्द्रमा प्रभावकारी भूमिका निर्वाह गरिरहेकोले अब प्रदेशस्तरमा समेत निरन्तरतासहितको विस्तार योजना राखिएको उनले जानकरी दिए ।