विराटनगर, १९ कार्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डितले विकासको लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताएका छन् ।
नेकपा एमाले विराटनगर महानगरपालिका ४ नम्बर वडाले जामुनगाछीमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पण्डितले अहिलेको गठबन्धन विकास विरोधी भएकाले गठबन्धनबाट राजनीतिक स्थायित्व नहुनेमा जोड दिए ।
नेकपा एमालेको सरकार हुँदा विकासका धेरै कामहरु अघि बढेको बताउँदै उनले आफ्नो क्षेत्रमा अन्य क्षेत्रको भन्दा धेरै बजेट ल्याउन सफल भएको जानकारी दिए । ‘मैले स्रोत जुटाइदिने हो, त्यो काम मैले निसंकोच गरेँ’, उनले भने, ‘तर स्थानीय तहहरुले प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गरिदिएनन् र बजेट धेरे फ्रिज भएर गयो ।’ धेरै अधिकार स्थानीय तह र वडालाई हुने भएकाले आयोजनाको काम नभएर बजेट फ्रिज हुँदा आफूले गाली खानुपरेको उनको भनाइ थियो ।
पण्डितले क्षेत्रीय विमानस्थलको रुपमा निर्माण अघि बढेको विराटनगर विमानस्थलको काम गठबन्धनको सरकारले रोकेको आरोप लगाए । नेकपा एमालेको एकल सरकारले बन्यो भने संघीय बजेटमार्फत नै विराटनगर विमानस्थलको काम अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे । जामुनगाछी सडक पनि बजेटको कारण रोकिएको होर ? उनले प्रश्न गरे । ‘बजेट हुँदा हुँदै ठेकेदारका कारण काम हुन सकेन’, उनले भने, ‘मैले पहल पनि धेरै गरँे, तर एकल प्रयासले नहुने रैछ, एकल बहुमत आउँदा काम नगर्ने ठेकेदारहरुलाई जेलमा कोच्न सकिन्छ । त्यसकारण विकासको लागि एकल बहुमत आवश्यक छ ।’
‘बहुमत आउँदैन, अर्को पार्टीसँग मिल्नुपर्ने अवस्थामा दुई दल वा अन्य दलहरुसँग विचार मिलिरहेको अवस्था पनि नहुने हुँदा विकास कामलगायत अन्य काम गर्न पनि असहज हुने परिस्थिति आउने हुन्छ’, उनले भने, ‘त्यसकारण जनताले एउटा दललाई स्पष्ट बहुमत दिने हो भनेमात्र जनताको चाहना अनुसारको काम गर्न सकिन्छ ।’
पण्डितले मोरङ क्षेत्र नं. ६ मा आफुले उल्लेखनीय बजेट ल्याउन सफल भए पनि धेरै बजेट फ्जि भएर जाँदा दुःख लागेको बताए । ‘बजेट ल्याउन कत्ति गाह्रो हुन्छ’, उनले भने, ‘विराटनगरको सभागृहका लागि ल्याएको करोडौं बजेट एक रुपैयाँ पनि खर्च नभई फिर्ता गयो, यस्तो हुँदा दुःख लाग्छ ।’ काम गर्दा गर्दै पनि अझै नपुगेका कारण अपुरो रहेका अन्य काम पूरा गर्नको लागि फेरि पनि उमेदवार बनेको पण्डितले बताए ।
बुढी खोला नियन्त्रण, खनार नेताचौक मुल नहरको सडकमा कालोपत्रे लगायतका काम र विकास निमार्णका अधुरा कामहरु पूरा गर्नको लागि आफूलाई भोट दिएर जिताईदिन उनले जनतामाझ आग्रह गरे ।
प्रदेश ६ ‘ख’का उम्मेद्वार पर्शुराम बस्नेतले आफ्नो क्षेत्रमा पर्ने ६ वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रमा दक्ष डाक्टरको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । महानगरभित्रका धेरै वडाका आधारभूत स्वाथ्य केन्द्र नर्सहरुको भरमा सञ्चालन भएको बताउँदै उनले आफू निर्वाचित भएपछि डाक्टरको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका हुन ।
उनले जनताको अपेक्षा अनुसार नै आफु उम्मेदवार बनेको र जनताको अपेक्षामा कहिल्यै चोट पुग्न नदिने पनि बताए । आफ्नो क्षेत्रका जनताको समस्याको बारेमा आफू परिचित रहेकाले पनि काम गर्न समस्या नहुने उनले बताए ।
जामुनगाछी सडकको विषयमा पनि निर्वाचित भएपछि सडक निर्माणका लागि पहल गर्ने बताउँदै बस्नेतले बृद्धबृद्धाका लागि न्येष्ठ नागरिक भवन, तिर्थाटनलगायतको काम आफूले गर्ने बताए । ‘जनप्रतिनिधि भएपछि आफूले गर्न सक्ने काममात्र भन्दै आएको छु’, उनले भने, ‘म आश्वासन मात्र बाड्दिन गर्न सक्ने काममात्र बोल्छु र गरेर देखाउँछु । भोलि जनताले गुनासो गर्ने ठाउँ राख्दिन ।’
६ ‘क’ की उम्मेदवार रीता न्यौपानेले आफूले चुनाव जिते स्वरोजगारलाई नीतिगत रुपमा अगाडि बढाउने बताएकी छन् । गर्न सकिने धेरै काम नभएको बताउँदै उनले आफ्नो क्षेत्रमा साना तथा मझौला उद्योग स्थापना गरेर युवाहरुलाई रोजगारी दिने बताइन् ।
उनले आफूले महिलालाई मनमा बृद्धबृद्धालाई शिरमा र युवालाई साथसाथै लिएर हिँडेको बताइन् । ‘मेरो प्रतिस्पर्धीले महिला भनेर भोट मागि भनिरहेका छन्, हो, म महिला नै हो, महिलाको प्रतिनिधित्व गरेर उमेदवार भएको छु’, उनले भनिन्, ‘म कसैलाई गाली गर्दिन, आफ्नो प्रतिवद्धता तपाईहरुमाझ राखेर भोट मागिरहेको छु ।’ ‘हिजो पनि सँगसँगै थिएँ, आज पनि छु र भोलि पनि हुनेछु, किनकी म तपाईहरुकै ठाउँको छोरीचेली हुँ’, उनले भनिन् ।