०८ चैत्र २०८१, शनिबार

Darshan Daily

३ वर्ष अगाडि

भोजपुर, १० चैत । भोजपुरको अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको २००७ सालका क्रान्ति योद्धा स्व. मानध्वज राई (फुइकी बाजे) को सालिक अनावरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सालिकको अनावरण गर्नुभएको हो ।
सालिकको अनावरण गर्दै मन्त्री कार्कीले राणा शासनका बेला पनि परिवर्तनको बिगुल फुक्ने स्व. राईको प्रतिमा बनाउनु र त्यसमा पनि आफैँले उद्घाटन गर्न पाउनु सौभाग्य भएको बताउनुभयो ।
राणा कालमा पुर्खाहरूले रैतीको जीवनयापन गर्ने गरेको सहन नसकेर रैती हुनुभन्दा सहिद हुनुपर्छ भन्ने सोचका साथ बीपी कोइरालाहरूले सुरु गरेको अभियानमा स्व. राई लागेको उहाँले स्मरण गर्नुभयो ।
अन्यायका विरुद्धमा लड्नुपर्ने बताउँदै उहाँले ऐतिहासिक पात्रहरूको सालिकले केवल प्रतिमा मात्र नभएर ऐतिहासिक तथ्यको झझल्को दिने बताउनु भयो । स्व. राई जिल्लामा नयाँ नयाँ कृषि तथा फलफूलका बोटबिरुवा ल्याउने व्यक्तिका रूपमा चिनिने भएकाले कृषि क्रान्तिका अभियन्ता पनि भनेर चिनिनुहुन्छ । राईको निधन २०३० सालमा भएको थियो ।
मन्त्री कार्कीले सालिकसँगै निर्माण गरिएको जोडी जरायोको प्रतिमाको पनि उद्घाटन गर्नुभयो । जरायोटार प्रदेश १ को बीचको भूभाग रहेको उल्लेख गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले यसको विकाशका लागि नवीन ढङ्गले अगाडि बढ्ने बताउनु भएको छ ।
गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले आफ्नो पालिकाले जनतालाई घर घरमा सरकार आएको महशुस हुने गरी काम गरेको बताउनुभयो । वक्ताहरूले स्व. राईले जस्तो योगदान पु¥याएकालाई यसैगरि सम्मान गरेर चिनारी दिनुपर्ने बताएका छन् ।
मन्त्री कार्कीले वडा नं. ६ मै २० रोपनी जग्गामा निर्माणाधीन खेल मैदानको पनि अवलोकन गर्नुभयो । मैदानको अवलोकन गर्दै उहाँले मैदान निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।

बिहिबार, चैत्र १०, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]