२१ बैशाख २०८२, आइतबार
नोबेल कारबाहीको प्रक्रियामा

एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही

Darshan Daily

३ वर्ष अगाडि

काठमाडौँ, २३ फागुन । चिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको बताउनुभयोे ।
उहाँले कलेजको एमबिबिएस कोटा घटाउने, कोटा खारेज गर्ने तथा सम्बन्धन खारेज गर्ने जस्ता कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । “अतिरिक्त शुल्क नलिनु भनेर हामीले धेरै पहिलेदेखि कलेजलाई भन्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “तर कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउनुका साथै विद्यार्थीलाई अनाश्यक तनाव दिएकाले कारबाही प्रक्रिया अगाडि बढाएका छौँ ।” उहाँले आगामी चैत ४ गते बस्ने बोर्ड बैठकले कारबाहीबारे निर्णय गर्ने बताउनुभयो ।
आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले कलेजले छात्रबासका नाममा अतिरिक्त शुल्क उठाउने गरेको पाइएकाले नउठाउन निर्देशन दिएको बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले कलेजले विद्यार्थी समस्या एक हप्ताभित्र समाधान नगरे कारबाही प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
बैठकमा समिति सभापति जयपुरी घर्तीले मेडिकल कलेजले कानूनले तोकेकोभन्दा बढी नै शुल्क लिने गरे तापनि नियन्त्रण गर्न कठिनाइ भएको बताउनुभयो । “एमबिबिएस शुल्कमा केही नियन्त्रण त भएको छ । तर सबै भएको छैन”, उहाँले भन्नुभयो, “कानुनले तोकेकोभन्दा बढी नपाउने गराउनु पर्दछ ।”
उहाँले कलेजले छात्राबास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको बताउनुभयो । उहाँले तत्काल आयोग, कलेज र जिल्ला प्रशासनसँग समन्वय गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सभापति घर्तीले तीन महिना पढाइ छुटेका विद्यार्थीलाई पुनःकक्षा संचालन गर्न कलेजलाई निर्देशन दिनुभयो ।
कलेजमा अध्ययनरत १० विद्यार्थीले समितिमा कलेजले आफूहरुसँग अतिरिक्त शुल्क मागेको र नदिएपछि विगत तीन महिनादेखि पठनपाठन गर्न नदिएको भन्दै उजुरी दिएका छन् । आयोगले उपत्यका बाहिर एमबिबिएस अध्ययनका लागि ४४ लाख ३६ हजार तोकेको छ ।
समिति सदस्य तथा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले कानूनी झन्झट खुकुलो बनाएर विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । “विद्यार्थीको माग स्थानान्तरण रहेको छ । बरु कानुन प्रावधान खुकुलो बनाएर विद्यार्थीलाई अन्य कलेजमा भर्ना गर्नुपर्दछ”, उहाँले भन्नुभयो । सांसद एकल मियाँले मुलुकका कानुन, ऐन नमान्ने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
समिति बैठकमा सांसदले आयोगले तोकेकोभन्दा बढी शुल्क लिन खोज्ने नोबेल कलेजलाई कारबाही नगर्ने आयोग पदाधिकारीलाई कारबाही हुनुपर्ने बताउनु भएको छ । समिति सदस्य योगेश भट्टराईले तीन महिना बितिसक्दा पनि आयोगले विद्यार्थीको समस्या समाधान गर्न नसकेको भन्दै आयोगका पदाधिकारी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
“विद्यार्थीको समस्याबारे आयोग संवेदनशील भएन । आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोध्नुपर्छ”, उहाँले भन्नुभयो, “आयोगले नै तोकिएको शुल्कमा पढ्ने व्यवस्था कलेजमा गर्नुपर्छ ।” सांसद जीवनराम श्रेष्ठले कलेजले बढी शुल्क लिँदा पनि आयोग पदाधिकारी चुप लागेर बस्नु गैरजिम्मेवारीपन भएको बताउनुभयो ।
“कलेजले बढी शुल्क लिनेलाई कारबाही गर्ने अधिकार पाएको छ”, उहाँले भन्नुभयो, “तर आयोगले किन कारबाही नगरेर मुकदर्शक भएर बसेको छ । आयोग पदाधिकारीले पदीय जिम्मेवारी नै निर्वाह गर्नुभएन ।” उहाँले विद्यार्थीलाई सोही कलेजमा पढ्नसक्ने वातावरण गर्न नसके अयन्त्र स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।
सांसद नवीना लामाले विद्यार्थीको समस्याबारे आयोग संवेदनशील नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कलेजले सरकारलाई टेरेको छैन । मुलुकका नियम कानुन नमान्ने कलेजलाई कारबाही गर्नुप¥यो ।”

सोमबार, फाल्गुण २३, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]