०६ बैशाख २०८१, बिहिबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, ४ पुस । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मार्ग शुक्ल पूर्णिमा दिन विभिन्न समुदायले मनाउने चाडपर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
मुख्यमन्त्री राईले उधौली, यःमरि पुन्हि तथा चासोक तङनामलगायतका चाडपर्वका अवसरमा शुभकामना दिनुभएको हो ।
उधौली पर्वलाई राईहरूले उधौली साकेला, लिम्बूहरूले चासोक तङनाम, याक्खाहरूले चासुवा र सुनुवारहरूले फोलष्याँदरको रुपमा मनाउने गर्छन् । यस्तै मार्ग शुक्ल पूर्णिमाकै दिन नेवार समुदायले यःमरि पुन्हि पर्व मनाउने गर्छन् । यी पर्वका अवसरमा मुख्यमन्त्री राईले शुभकामना सन्देश दिंदै प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्नुभएको छ ।
उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसंस्कृतिको मुलुक भएको उल्लेख गर्दै विविधिता हाम्रो विशिष्टता र सम्पत्ति भएको जनाउनु भएको छ । ‘विविधताबीचको एकता हाम्रो सुन्दरता र हाम्रो शक्ति पनि हो । त्यसैले एक अर्काकोे भाषा, धर्म, संस्कृति, पर्व आदिलाई सम्मान र स्वीकार गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्नु सबै नेपालीको कर्तव्य हो, दायित्व हो’ मुख्यमन्त्री राईले शुभकामना सन्देशमा भन्नु भएको छ ।
उहाँले उधौली र यःमरि पुन्हि जस्ता पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्दै यी पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
किराँत मान्यताअनुसार मार्ग शुक्ल पूर्णिमाको दिनदेखि हिउँद (जाडो) शुरु हुन्छ र यसै दिनदेखि न्यानोको खोजीमा पशुपन्छी, विभिन्न जीवजन्तु लेकबाट बेसीतिर उँधो झर्ने गर्छन् । त्यसै भएकाले यस दिन मनाइने पर्व (साकेला) लाई उधौली भनिएको हो ।
उधौली पर्व अन्नबाली भित्र्याएपछि अथवा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइन्छ । यस पर्वमा मूलतः प्रकृति, भूमि, पितृहरू आदिको पूजा गरिन्छ । त्यसैगरी यो पर्वमा आफ्नो मौलिक भेषभूषा लगाउने, ढोल, झ्याम्टा बजाएर साकेला (चण्डी) गीत गाउने, नाच्ने गरिन्छ ।
नेवारहरूले मनाउने यःमरि पुन्हि पर्वका दिन चामलको पिठोभित्र चाकु, तिल, खुवा आदि राखेर विशेष प्रकारको रोटी बनाएर खाने गरिन्छ । यस्तो रोटीलाई नेवारी भाषामा ‘यःमरि’ भनिन्छ । यही यःमरि खाएर मनाइने पर्व भएकाले यःमरि पुन्हि भनिएको हो भन्ने भनाइ पनि छ ।
यःमरि पर्वका दिन अन्न भण्डारमा यःमरि, लक्ष्मी, गणेश, कुबेर आदिको प्रतीक÷प्रतिमा बनाई चढाउने पनि गरिन्छ । यसरी अन्नभण्डारमा चढाएको यःमरि चार दिनपछि निकालेर बाँडेर खाने गरिन्छ । यःमरि पुन्हिका दिन घरघरमा गएर यःमरि गीत गाउँदै यःमरि माग्ने चलन पनि छ ।

आइतबार, पौष ०४, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]