११ माघ २०८१, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

काठमाडौं, १५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा संक्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन । उहाँले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताउनुभयो ।
“नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको अवस्था छ”, उहाँले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।
उहाँका अनुसार उक्त भेरियन्टले बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । ओमिक्रोन संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट साउथ अफ्रिका तथा एसियाका केही मुलुकमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरेको छ ।
मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गई खोप लगाउन पनि अनुरोध गरेको छ ।

बुधबार, मंसिर १५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]