२० मंसिर २०७८, सोमबार

चीना थापा

१ महिना अगाडि

विराटनगर, १५ कार्तिक । सुनसरी हरिनगराकी १४ बर्षकी बालिका मोरङको कटहरीमा दिदीको घरमा बस्ने गरेकी थिईन् । घरमा बुढिआमा मात्र भएकाले उनी पढ्नको लागि दिदीको घरमा बस्दै आएकी हुन् ।
दिदीको घरमा बस्दै आएकी बालिकालाई त्यहीको ५५ बर्षका पुरुष श्यामलाल सरदार नाम (परिवर्तन) ले उनलाई ललाईफकाई भारत पु¥याए । ६ महिना उतै राखे र त्यसपछि नेपाल ल्याएर त घर जा भनेर छाडिदिए । गर्भवती भईसकेकी बालिकालाई परिवारले पनि सानो जातसँग गएकी भन्दै घरमा आउन दिएन । घटना बाहिर आयो र ओरेक विराटनगरसम्म आईपुग्यो । अहिले यो घटना अदालतसम्म पुगेको छ । पीडक पक्राउ परिसकेका छन् । बालिका सुरक्षा आवाजमा छिन् ।
मोरङको पथरीमा रहेको शणरार्थी शिविरमा १३ बर्षकी बालिकालाई विभिन्न समयमा ५ जनाले पटक पटक बल्लात्कार गरे । बालिकाको बुबा मानसिक रोगी र आमा रक्सी आएर हिंड्ने भएका कारण ललाईफकाई पटक पटक बलात्कार गरे । पछि घटना बाहिर आयो । तर परिवार मिलापत्र गर्ने पक्षमा थियो । परिवार कमजोर भएका कारण बालिका असुरक्षित भएकोले ओरेक विराटनगरले नै त्यो मुद्दालाई प्रहरीसम्म पु¥यायो ।
ओरेकले संचालन गरेको सुरक्षा आवासकी इन्चार्ज उर्मिला निरौलाले निम्नस्तरका घरपरिवारका बालिकाहरु बढी बलात्कारमा परेको बताईन् । ‘परिवारको अवस्था बुझेर केही गर्न नस्कने जस्तो देख्यो भने, परिवार विमेल भएको र बैदेशिक रोजगारीका कारण पनि बालिकाहरु बलात्कारको शिकार हुनुपरेको छ’, उनले भनिन् ।
घटना बाहिर आएर अदालतसम्म पुगिसकेपछि परिवारले बीचैमा मिलापत्र गरिदिने गर्नाले पनि पीडकले प्रशय पाउने गरेको उनको भनाई छ । कतिपय घटनाहरु परिवार भित्रको व्यक्तिबाट हुने भएका कारण पनि बालिका माथि हुने बलात्कारका घटनाहरुमा बृद्धि भएको निरौलाको भनाई छ । ‘परिवार भित्र भएका घटनाहरु परिवारले नै बाहिर ल्याउन चाहँदैन’, उनले भनिन्, ‘अति भईसकेपछि बालिकाहरुले नै बाहिर ल्याउँछन्, यस्तो अवस्थामा बालिकाहरुलाई पुर्नस्थापना गर्न नी समस्या हुन्छ ।’
प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा एक हजार ६२५ वटा जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कूल १४ जिल्लामा बर्सेनि औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ, जसमा ५ वर्षे शिशुदेखि ७० वर्षीया वृद्धासमेत बलात्कारमा परेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश १ मा कूल ५९० वटा जबरजस्ती करणीका घटना भएका छन् । गत आर्थिक वर्षमा जबरजस्ती करणीको घटनामा १८ वर्षभन्दा माथि ५९ वर्षसम्मका ३१७ जना पीडित भएका छन् । यस्तै, ५ वर्षदेखि १८ वर्ष उमेर समूहमा २७० जना र ६० देखि ७० वर्ष उमेरका १२ जना जबरजस्ती करणीको घटनामा पीडित भएका छन् ।
आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशभरि कूल ४७६ वटा जबरजस्ती करणीका घटना भएका छन् । जसमध्ये पाँच वर्षदेखि १८ वर्ष उमेर समूहका २७७ जना बलात्कारमा परेका छन् । सो आर्थिक वर्षमा ६० देखि ७० वर्ष उमेर समूहका १० जना वृद्धा बलात्कारमा परेका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशभर कूल ५५९ जबरजस्ती करणीका घटना भएका छन् ।
प्रदेशका १४ मध्ये तीन जिल्लामा ५० प्रतिशतभन्दा बढी घटना
प्रदेशको पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा घटना बढी देखिएको छ । प्रदेश १ मा आर्थिक वर्ष २०७५÷७६ मा बलात्कारका कूल ५५९ घटनामध्ये झापा, मोरङ र सुनसरीमा मात्र कूल ३४० घटना भएको छ । बाँकी ११ जिल्लामा २१९ त्यस्ता घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश १ का १४ जिल्लामा गरी ४७६ बलात्कारका घटना भएकोमा झापा, मोरङ र सुनसरीमा मात्र कूल २७५ घटना भएका छन् । बाँकी ११ जिल्लामा २०१ त्यस्ता घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री उषाकला राई तीन जिल्ला अलि सुगम रहेकाले महिलाका क्षेत्रमा काम गर्ने एनजिओ आईनजिओको कार्यक्रमहरु हुने र सरकारी कार्यक्रमहरु पनि सहर केन्द्रित भएका कारण तनि जिल्लामा घटना बढी देखिएको बताईन् । घटनाहरुको बढी रिपोर्टिङ भएकाले पनि पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा बढी देखिएको उनको बुझाई छ । पहाडी जिल्लाहरु दुर्गम रहेकाले सरकारी तथा गैरसरकारी संस्थाहरु त्यस्तो ठाउँमा कम पुगेको र भएका घटनाहरु बाहिर आउन नसकेको हुनसक्ने राईको अनुमान छ । समाजमा इज्जत जाने डरले पनि पहाडी क्षेत्रमा धेरै घटनाहरु लुकाउने प्रचलनले गर्दा पनि कम देखिएको उनको भनाई छ । पीडिकको धम्कीका कारण पनि घटनाहरु बाहिर आउन नसक्ने उनले बताईन् । ‘चेतनाको अभावका कारण पहाडी जिल्लामा घटनाहरु बाहिर आउन नसकेको हो’, उनले भनिन्, ‘घटना नभएका भने होईनन् ।’
आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश १ का १४ जिल्लामा गरी बलात्कारका कूल ५९० घटना भएकोमा झापा, मोरङ र सुनसरी गरी तीन जिल्लामा मात्र ३४४ त्यस्तो घटना भएको पाइएको छ भने बाँकी ११ जिल्लामा २४६ वटा घटना भएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र प्रदेशमा ४४ वटा जबरजस्ती करणीका घटना भएका छन् । ती घटनामा ५ देखि १८ वर्ष उमेर समूहका २९ जना, १८ देखि ५९ वर्ष समूहका १३ जना र ६० देखि ७० वर्ष उमेर समूहका दुई जना बलात्कृत भएका छन् ।
प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईका अनुसार सहरी क्षेत्रमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण यौनजन्य हिंसाका घटना बढेको हो । उनी भन्छन्, ‘हामीले त्यस्ता घटना बढी हुने सहरी क्षेत्रमा निगरानी बढाएका छौं ।’
प्रहरी उपरीक्षक राईले ललाई फकाई तथा प्रेम विवाहको प्रलोभनमा पारेर यौनजन्य हिंसा गराउने प्रचलन बढी पाइएको बताए । त्यस्ता प्रकृतिको घटनाका पीडकको उमेर समूह १६ देखि २५ वर्षका मानिसहरुको संख्या बढी छ भने पीडितको उमेर समूहमा १६ वर्षदेखि मुनिका छन् ।
१ नम्बर प्रहरी कार्यालयका प्रहरी प्रवक्तासमेत रहेको राईका अनुसार जबरजस्ती करणीका अन्य कारणहरुमा डर त्रास, धाकधम्की तथा आर्थिक प्रलोभन हुने गरेको पाइएको छ । यसरी पीडित हुनेमा १८ देखि ३५ वर्ष उमेर समूहका महिला बढी छन् । नाबालिका तथा वृद्धा भने प्रतिकार गर्न नसक्दा बलात्कारमा पर्ने गरेका छन् ।
धैरैजसो बलात्कारको घटनामा परिवारभित्रैको सदस्य र आफन्तबाट हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रत्येक वर्ष बलात्कारका घटनामा वृद्धि हुनु र आफन्तहरु नै त्यसमा संलग्न भएको पुष्टि हुनुले महिलाको सुरक्षामा चुनौती थपिएको महिला अधिकारकर्मी मञ्जिता उपाध्याय बताउँछिन् । महिलामाथि हुने यौनजन्य हिंसा धेरैजसो त आपसी सहमतिमा मिलापत्र गरेरै टुङ्गिने गरेको उपाध्याय बताउँछिन् ।
यौनजन्य हिंसाका घटना सार्वजनिक गर्दा इज्जत जान्छ, जेल बस्नुपर्छ भनेर पनि मिलापत्रमा मिलाउने अवस्था देखिएको उनले बताइन् ।
उपाध्याय भन्छिन्, ‘यौनजन्य हिंसाजस्ता जघन्य अपराधको यो डरलाग्दो रुपलाई कम गर्न अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।’
प्रदेश १ की सासंद सरिता थापाले प्रविधिका कारण पनि बालिकाहरु बलात्कारको शिकार हुनुपरेको अवस्था रहेको बताईन । सामाजिक सञ्जालले गर्दा पनि यस्ता घटना बढिरहेको उनको भनाई छ । ‘बालिकाहरुलाई बलात्कार हुनबाट जोगाउनका लागि परिवारले ध्यान दिनुपर्नेपर्छ’, उनले भनिन्, ‘समाजमा इज्जत जाने डरले परिवारले नै घटनाहरु लुकाउँदा पनि पीडकले हौसला पाएका छन्, त्यसकारण यस्ता घटना नलुकाई बाहिर ल्याउनुपर्छ ।’
घटना घटिसकेपछि न्यायलयसम्म पु¥याउदासम्म बीचमा आईपर्ने विभिन्न प्रलोभन, आर्थिक लेनदेन, मानसिक तनाब लगायतका अप्ठ्याराहरुसँग लड्नका लागि पीडितलाई हौसला दिने र उसलाई लड्न सक्ने बनाउने काम गर्नु जरुरी रहेको थापाले बताईन् । आफूहरुले संसदमा पनि बलात्कारको घटनाका विषयमा आवाज उठाउने गरेको उनले बताईन् ।
अहिलेको कानुन पर्याप्त भएपनि कार्यान्वयनको पाटो फितलो हुँदा घटनामा वृद्धि भएको थापाको बुझाई छ । कतिपय घटनालाई राजनीतिककरण गर्ने प्रवृत्ति रहेकाले पनि पीडितले न्याय नपाउने अवस्था सिर्जना हुने गरेको उनले बताईन् ।
अधिवक्ता कला त्रितालका अनुसार नेपालको मुलुकी अपराध संहिता २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ ले जवरजस्तीकरणी मुद्दामा सजायको व्यवस्था गरेको छ । दफा १९ को ३ मा १० बर्ष भन्दा कम उमेरकी बालिका, अशक्त, अपाङ तथा ७० बर्ष भन्दा माथिकालाई जवरजस्ती करणी गर्दा जन्मकैदको व्यवस्था गरेको उनले बताईन् । १० बर्ष वा १० बर्ष भन्दा माथि र १४ बर्ष भन्दा कम उमेरका बालिकालाई जवरजस्तीकरणी गर्नेलाई १८ देखि २० बर्षसम्म कैदको व्यवस्था गरिएको अधिवक्ता त्रितालले बताईन् ।
त्यसैगरी १४ बर्ष भन्दा बढी र १६ बर्षसम्मका उमेर समूहका बालिकालाई जवरजस्तीकरणी गरेमा १२ बर्षदेखि १४ बर्षसम्म कैदको व्यवस्था गरिएको छ भने १८ सम्म र त्यो भन्दा माथिका भएमा ७ बर्षदेखि १० बर्षसम्म कैदको व्यवस्था गरिएको छ । पछिल्लो संशोधनले कानुनमा पर्याप्तता ल्याएको भएपनि कानुन कार्यान्वयन पक्ष फितलो हुँदा घटनाहरु बढेको उनले बताईन् ।

सोमबार, कार्तिक १५, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]