१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, २३ साउन । स्थानीय स्रोत साधनलाई प्रयोग गरेर पनि उद्योग संचालन गर्न सकिन्छ । स्थानीय स्रोत साधनलाई चिनेर थोरै लगानीमा पनि काम गर्न सक्यो भने त्यसले ठूलो प्रतिफल दिन्छ । विराटनगर–२ शंकरपुरकी लीला निरौला रिजालले २ बर्षदेखि बासका विभिन्न सामग्री बनाउने उद्योग संचालन गरिरहेकी छिन् ।
२०७० सालदेखि उद्योग स्थापना गरेर व्यवसायिक यात्रा सुरु गरेकी रिजालले सुरुमा क्रिस्टलका सामग्री बनाउने उद्योग संचालन गरेकी थिईन् । समय परिवर्तनसँगै उद्योगको उत्पादनमा पनि परिवर्तन ल्याउनपर्छ भनेर उनले दुई बर्ष अगाडिदेखि बाँसबाट निर्माण हुने सामग्री बनाउने उद्योगको सुरु गरेकी हुन् ।
दुई बर्ष अगाडिदेखि सुरु भएको शुभलक्ष्मी हस्तकला उद्योगमा आकर्षक गिफ्ट आईटमहरु बन्छन् । प्रदेश १ को पर्यटकीय स्थलहरुको सहितको नक्सा भएको फ्रेम, नेपालको नक्सा भएको फ्रेमलगायत विभिन्न किसिमका घडिहरु पनि उद्योगमा बन्ने गरेका छन् ।
५ लाख लगानीमा सुरु भएको उद्योगको लगानी अहिले १० लाख भन्दा माथि पुगिसकेको उद्योग संचालिका लिला निरौला रिजालले बताईन् ।
उद्योगमा उत्पादन भएको सामग्रीहरु प्रदेश १ का जिल्लाहरुमा निर्यात हुनुका साथै काठमाडौमा बढीमा मात्रामा निर्यात हुने गरेको छ । प्रदेशको पर्यटकीय स्थलसहितको नक्सा राखेर निर्माण गरिएका फ्रेमहरु प्रदेश सरकारहरुको अर्डरमा पनि निर्माण हुने गरेको छ ।
उद्योगमा ४ जनाले रोजगारी पाएका छन् । कोभिडको समयमा पनि उद्योग बन्द भएन । सामान स्टक राखेर पनि काम निरन्तर भईरह्यो । उद्योगमा महिलाहरु नै काम गर्ने भएकाले पनि उद्योग बन्द नगरेको रिजालले बताईन् । महिलाहरु आर्थिक रुपले सक्षम हुनुपर्छ भनेर संचालन गरिएको उद्योग भएकाले बन्द नगरिएको उनको भनाई छ । ‘कोरोनाको मारमा कत्ति भोकै परे, आम्दानी नभएपछि के खानु, मैले काम दिएकाहरु भोकै बस्नुनपरोस् भनेर मैले सुरक्षाको मापदण्ड अपनाएर काम गर्न भने, उद्योग बन्द गरिन्’, उनले भनिन्, ‘मजदुरले काम गरेको तलबबाट त घरपरिवार पाल्ने हो, उद्योग नाफामा हुँदा राख्ने, घाटामा हुँदा निकाल्ने ग¥यौ भने उनीहरुले परिवार कसरी पाल्ने, सामान स्टक राखेर भएपनि मैले रोजगारी दिएकालाई काम गर्न नआउनु भन्न सकिन ।’
सानो लगानीमा उद्योग संचालन गरेका महिलाहरुलाई कोभिडको कारण निकै मार परेको अवस्था छ । महिला उद्योगीहरुलाई बैंकहरुले सहुलियत रुपमा कर्जा दिने भएपनि कर्जा लिन निकै गाह्रो हुने गरेको उनको अनुभव छ । महिलाहरुलाई सर्वसुलभ तरिकाले कर्जा दिने व्यवस्था हुनुपर्ने उनको भनाई छ । सरकारले पनि महिला उद्योगीलाई ध्यानमा राखेर काम गर्नुपर्ने उद्योग संचालिका रिजालको सुझाव छ ।
कोरोना नहुँदा उद्योगबाट धेरै सामान निर्यात हुने गरेको थियो । तर अहिले कोरोनाका कारण समस्या भएको उद्योगले जनाएको छ । अहिले उत्पादित गिफ्ट आईटमहरु स्टक नै रहेको रिजालको भनाई छ । उद्योगबाट बढीमात्रामा गिफ्ट आईटमहरु बन्ने भएकाले विवाहको सिजन र विभिन्न खालका कार्यक्रममा जाने गरेको छ ।
स्थानीय स्तरको स्रोत साधनलाई उपयोग गरेर निर्माण भएको र हातले बनाइने भएका कारण पनि उत्पादित सामग्री निकै आकर्षक देखिन्छन् । उद्योगबाट उत्पादित सामग्री सबैको रोजाईमा पर्न सफल भएको छ । घरमा सजावटका लागि पनि धेरैले लैजाने गरेका छन् ।
आफ्नै स्रोत साधन प्रयोग गरेर नेपालीको चिनारीको रुपमा बनाईएका हस्तकला सामग्रीको बजार व्यवस्थापन हुन नसकेको उनको भनाई छ । स्थानीय उत्पादनलाई प्रवर्दनका लागि एयरपोर्ट तथा विदेशी पर्यटक आउने ठाउँमा विक्री वितरण व्यवस्था मिलाउन सके नेपाली उत्पादन विदेशसम्म पुग्ने र नेपाली हस्तकला सामग्रीको पहिचाहन बन्ने उनले बताईन् ।
उद्योगमा अझै लगानी बढाएर अझ धेरैलाई रोजगारी दिने उनको चाहना छ । उद्योगमा लगानी बढाएर उत्पादन बढाउदा स्थानीय तथा प्रदेश सरकारले पनि हस्तकला सामग्रीको बजारीकरणमा सहजीकरण गर्नुपर्ने उनको तर्क छ ।

शनिबार, साउन २३, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]