विराटनगर, १९ पुस । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम शुरु गरेको छ ।
गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्षसम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुगिसकेको छ ।
चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपांगता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका लागि आजदेखि विराटनगरमा तालिम शुरु गरिएकोे छ । ४५ दिने तालिमको सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । तालिम उद्घाटन गर्दै उहाँले अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम प्रदेश सरकारले निरन्तर रुपमा संचालन गर्ने बताउनुभयो । अपांगता न्युनीकरणका लागि कार्यक्रम प्रभावकारी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिकाले अपांगता न्युनीकरणका लागि करुणा फाउण्डेसनसँगको सहकार्यमा काम गरिरहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको मेरुदण्ड सहकर्ताहरु भएको बताउनुभयो ।
प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसनबीचको सहकार्यमा तीन बर्षे कार्यक्रम शुरु गरिएको हो । मोरङ, सुनसरी, धनकुटा र पाँचथरका २७ स्थानीय तहबाट गत बर्ष कार्यक्रम शुरु गरिएको थियो । चालु आर्थिक बर्षमा मोरङ, सुनसरी, संखुवासभा र भोजपुरका गरी थप ३१ स्थानीय तहका कार्यक्रम शुरु गरिएको करुणा फाण्डेसनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताउनुभयो । उहाँका अनुसार इलामका १० र सुनसरीको बराहक्षेत्रमा यसअघिदेखि नै कार्यक्रम संचालनमा छ ।
करुणा फाण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा ३ बर्ष कार्यक्रम संचालन गर्ने प्रदेश सरकारसँग सम्झौता भएको करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले बताउनुभयो । अपांगता न्युनीकरणको काम निरन्तर संचालन गर्नुपर्ने भएकाले ३ बर्षपछि प्रदेश र स्थानीय सरकारले कार्यक्रम अघि बढाउने उहाँले बताउनुभयो ।