विराटनगर, ११ पुस । सहयोगापेक्षी सडकआश्रित मानवहरु अब सडकमा नदेखिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भएको छ ।
विराटनगरमा शनिबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले सडक मानवको उद्दार कार्य जटिल भएको बताउ“दै प्रदेश सरकारले आगामी बैशाख भित्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरिसकिने बताउनुभयो । प्रदेश सरकारले मानव सेवा आश्रम, स्थानीय तहसँगको सहकार्यमा उद्धार कार्य निरन्तर रुपमा गर्दै आएको मन्त्री घिमिरे बताउनुभयो । तत्काल झापा, मोरङ र सुनसरीमा यो अभियान संचालन गरिएको उहाँको भनाई छ ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले सहयोगापेक्षी सडक मानव उद्दार तथा पुर्नस्थापनामा महानरले सहयोग गरिरहेको बताउँदै यो अभियानमा आवश्यक पर्ने अरु सहयोग गर्न पनि महानगर प्रतिवद्ध भएको बताउनुभयो । मानव सेवा आश्रमको अभियानका कारण सडक आश्रितहरुको व्यवस्थापनमा सहज भएको उहाँको भनाई थियो ।
त्यसैगरी मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मेचीबाट शुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने बताउनुभयो । उहाँले आगामी २०८२ भित्रमा नेपाललाई शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनी रात बिताउन विवश घरबार विहीन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरु रहित राष्ट्र नेपाल निर्माण गरिने बताउनुभयो ।
प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरिएको सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । उहाँका अनुसार मानव सेवा आश्रमले पुस ७ गतेदेखि शुरु गरेकोे मेची–महाकाली अभियानअन्र्तगत झापाबाट ७६, सुनसरीबाट १११ र मोरङबाट ६६ जनाको उद्दार गरिएको छ । त्यसमध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति छन् ।’