विराटनगर, ३ पुस । प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक संचालन गर्ने भएको छ ।
आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यान्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ ।
पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री घिमिरेले जोड दिनुभयो ।
व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक संचालनको तयारी गरेको हो । कार्यक्रम संचालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सुर्याेदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङ्लुङ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनौट गरेको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदिप गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग शुक्रबार स्किम बैँक संचालन तथा व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम गरेको छ । पुँजी÷अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्कीम नभएका युवाहरुलाई अनुकुलका उद्यम गर्नका लागि स्कीम दिने गरी कार्यक्रम शुरु गर्न लागिएको गौतमले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा सीपमूलक तालिम कार्यक्रम संचालनका लागि १० करोड ५० लाख विनियोजन गरिएको छ । तालिम स्थानीय तहको माग बमोजिम संचालन गरिने उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाको समन्वय गरी कार्यक्रम संचालन गरिने शाखा अधिकृत गौतमले बताउनुभयो ।
छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले वित्तिय संस्था नपुगेका स्थानमा वित्तिय संस्था संचालनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।