लहान, २७ मंसिर । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा करिब एक दर्जन स्वास्थ्य संस्था अवैधरूपमा संचालनमा रहेको पाइएको छ ।
गोलबजार नगरपालिकाको स्वास्थ्य शाखाले हालै गरेको अनुगमनका क्रममा एक दर्जन अस्पताल तथा पोलिक्लिनिक बिना अनुमति संचालनमा रहेको फेला पारेको हो ।
अनुगमनका क्रममा १० वटा निजी स्वास्थ्य संस्था बिना दर्ता संचालनमा रहेको र आठ वटा नवीकरण नगराएको पाइएको नगर स्वास्थ्य शाखा सहसंयोजक पवन पञ्जियारले जानकारी दिनुभयो ।
गोलबजार–२ स्थित सत्यम् हेल्थ केयर तथा डाइग्नोष्टिक सेन्टर, माँ धमिनी डेन्टल क्लिनिक, हरि केयर क्लिनिकलगायतका स्वास्थ्य संस्था बिना दर्ता अवैध रूपमा संचालनमा रहेको पञ्जियारले बताउनुभयो ।
यस्तै भूमिजा हस्पिटल, अजय कम्युनिटी डेन्टल अस्पताल प्रालि, एकता स्मृति पोलिक्लिनिक, सौरभ एण्ड कृष पोलिक्लिनिक, माँ धमिनी हस्पिटल प्रालि, बेबी ल्याव, सगरमाथा मोडेल हस्पिटल प्रालिलगायतका स्वास्थ्य संस्था नवीकरणको प्रक्रियामा रहेको जनाएको छ । अनुगमनका क्रममा अवैधरूपमा संचालित स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको उहाँको कथन छ ।