विराटनगर, १८ मंसिर । सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडानको काम शुरु भएको छ । फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य बिहीबारदेखि शुरु भएको छ ।
मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकल अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्ने बताउनुभयो ।
विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम सुरु भएको उहाँले बताउनुभयो । मन्त्री घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिति हेरेर चाडै खेलकुद गतिविधि सुरु गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संरचना निर्माणमा जोड दिदैं उहाँले रंगशालाको पुराना संरचना सुधार र मर्मत गर्दै सुविधा सम्पन्न बनाइने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रंगशालाको प्याराफिटको स्तरोन्नतिमा विशेष ध्यान दिइने बताउनुभयो । महानगरमा खेलकुद गतिविधिलाई तीव्रता दिन गुरुयोजना भएपनि बजेट अभावका कारण पूर्णता दिन नसकिएको उहाँले बताउनुभयो ।
भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाईएको लाइट जडानका लागि हाल भारतको मुम्बईबाट १, कोलकाताबाट २, सिलगढीबाट ४, आसामबाट ३ जना प्राविधिक रहेका छन् । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
लकडाउनका कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन अमर जेभीले बताएको छ । फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालयले ४ करोड २९ लाख रुपैयामा सम्झौता भएको हो ।