विराटनगर, १४ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । थप १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ ।
त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८ सय ८६ पुगेको हो । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ ।
आज १७ जना नयाँ संक्रमित थपिएका छन् । आज झापाको कचनकवलका १५ र गौरादह नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ रिपोर्ट आएको हो ।
कचनकवलका १९ देखि ५७ वर्ष उमेरका पुरुष र गौरादहका २६ र ४१ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । झापाका ५ वटा स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । गौरादहमा आज २ जना संक्रमण देखिएसँगै ५ वटा स्थानीय तहमा संक्रमण देखिएको हो ।
यसअघि झापाको कचनकवल, दमक, बार्हदशी, झापा गाउँपालिकामा संक्रमित देखिएका थिए । झापाको कचनकवलमा मात्र संक्रमितको संख्या ४८ पुगेको छ । प्रदेश १ को झापामा ५४, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, खोटाङ र भोजपुरमा १÷१ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ बाट ३० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका २७, झापाका २ र भोजपुरका १ जना रहेका छन् ।