विराटनगर, २५ कार्तिक । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ सय वेड थप गर्ने तयारी गरेको छ ।
प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटरसहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोरोना संक्रमितले अक्सिजन, आईसियु र भेन्टिलेटरको खोजी गर्न थालेको उहाँले बताउनुभयो ।
प्रदेश स्तरिय स्वास्थ्य कार्यालयहरुको बार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम मंगलबार मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो ।
प्रदेश सरकार परिस्थितिको मागअनुसार अघि बढेको भन्दै उहाँले प्रदेश भरि ५ सय वेड विस्तार गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्थाअनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उहाँले निर्देशन दिनुभयो । मन्त्री घिमिरेले भन्नुभयो, ‘तेह्रथुमको आठराई र विराटनगरमा संक्रमणको अवस्था फरक छ ।’ अबको चुनौतिलाई सामना गर्न स्थान विशेषको कोरोना नियन्त्रणको नीति बनाउन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो भन्दा पनि स्थानीय स्तरको अवस्थाबारे पनि खोजि गर्न आवश्यक रहेकोमा उहाँको जोड छ । कोरोना संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले सरकारी प्रोटोकल पालना नगरेको प्रति उहाँले गुनासो गर्नुभयो ।
कार्यस्थलमा स्वास्थ्य सावधानी अपनाएको नपाईएको मन्त्री घिमिरेले बताउनुभयो । समीक्षा कार्यक्रममा मन्त्री घिमिरेले निजी अस्पतालको स्वीकृति र नियमनमा स्वास्थ्य कार्यालय प्रमुखहरुले ध्यान दिनुपर्ने बताउनुभयो । स्वीकृति दिँदा मापदण्डअनुसार भए÷नभएको हेर्ने र अनुगमनको काम स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताउनुभयो ।