बिराटनगर, १९ कार्तिक । मोरङ व्यापार संघको कार्यसमितिको सदस्य पदमा वर्धमान इण्डष्ट्रिज, विराटनगरकी संचालिका श्रीमती बन्दना जैन मनोनित हुनु भएको छ ।
उद्यमशिलता क्षेत्रमा महिलाको सक्षमता र पहुँचको कदर हुनु पर्ने मान्यता र महिला उद्यमीहरुलाई समेत यथोचित स्थान दिई प्रोत्साहन गर्नुपर्ने धारणासहित संघका अध्यक्ष प्रकाश मुन्दडाले संघको नियमावलीको दफा १६.१ (ङ) को व्यवस्था अनुरुप श्रीमती जैनलाई संघको कार्यसमिति सदस्यको रुपमा मनोनित गर्नु भएको हो ।
श्रीमती जैन स्नाकोत्तर क्याम्पस, विराटनगरकी उप–प्राध्यापकसमेत हुनुहुन्छ ।
संघको उद्देश्य प्राप्त गर्न महिला उद्यमीको भूमिकासमेत महत्वपूर्ण रहेको जनाउनु हुँदै अध्यक्ष मुन्दडाले श्रीमती जैनलाई मनोनयन गर्दै बधाई ज्ञापन गर्नु भई उहाँको कुशल कार्यकालको कामना गर्नु भएको थियो ।
अध्यक्ष मुन्दडाले नेतृत्व गरिरहनु भएको संघको ३२ औं कार्यसमितिमा श्रीमती जैनको मनोनयनले संघको इतिहास मै पहिलो पटक कार्यसमिति सदस्यको रुपमा महिला उद्यमीको नियुक्त गरिएको रेकर्डसमेत कायम गरेको छ । साथै, अध्यक्ष मुन्दडाबाट कार्यसमिति सदस्यको रुपमा महिला उद्यमीको चयनले उद्यमशिलता क्षेत्रमा लैङगिक समावेशिताको महत्वलाई समेत उदाहरणको रुपमा झल्काएको छ ।
यस अघि अध्यक्ष मुन्दडाले उद्योगी श्याम राठीलाई संघको कार्यसमिति सदस्यमा मनोनयन गर्नु भएको थियो ।