२१ कार्तिक २०८१, बुधबार

रासस

४ वर्ष अगाडि

देवेन्द्र कार्की
धरान, ११ कार्तिक । पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ ।
धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआजा गर्न आउने गरेका थिए ।
यस वर्ष कोरोना महामारीका कारण संघीय तथा स्थानीय सरकारले मन्दिरमा पूजाराधनामा बन्देज लगाएपछि नौरथामा मात्र मन्दिरलाई झण्डै ६ लाख घाटा भएको मन्दिरका मूल पूजारी विश्वराज खनालले जानकारी दिनुभयो । प्रदेश नं. १ को धरानमा अधिक कोरोना संक्रमण फैलिएको छ । संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ । सोही कारणले बडादशँैंमा नित्यपूजा तथा विशेष पूजामा पुजारीबाहेक कसैलाई पनि प्रवेश गर्न नदिइएको भएको धरान उपमहानगरपालिका–१४ नं. वडाध्यक्ष कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार दन्तकालीमा यस पटक विगत जस्तो नवरात्रिको बढाइँ भएन । फूलपातीको पनि विधि मात्र पूरा गरियो । यसैगरी बलि पनि मन्दिर समितिका तर्फबाट मात्र गरिएको छ । मन्दिरका तर्फबाट र वडा कार्यालयले सूचना प्रकाशन गरी मन्दिरमा नजान र घरमै पूजा गर्न भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरिएको थियो ।
‘दशँैको नौरथामा घुम्न आउने तथा पूजा गर्न आउनेबाट मात्र दैनिक ५०÷६० हजार आम्दानी हुने गरेको थियो’, मूल पुजारी खनालले भन्नुभयो, ‘यस वर्ष कोही आउन पाउनु भएन । हाम्रो आम्दानी गुम्यो ।’
मन्दिर परिसरमा नौरथामा मात्र दैनिक एक लाख भन्दा बढीको पूजा सामग्री, खेलौना, मन्दिरका चिनारी तस्वीर, नरिवल, बेलुनलगायत सामग्री बिक्रीबाट आम्दानी हुने गरेको थियो । कोरोनाका कारण मन्दिर परिसरमा व्यवसाय गर्दै आएका व्यापारीको पनि व्यापार चौपट भएको स्थानीयवासी दुर्गा भुजेल बताउनुहुन्छ । मूल पुजारी खनालका अनुसार महाअष्टमीमा भक्तजनले बोका, राँगा र हाँसको बलि दिने गरेका थिए । एक सयदेखि दुई सयसम्म पशुपक्षीको बलि दिँदै आए पनि यस वर्ष भक्तजन आएनन् । विधि र प्रक्रिया पु¥याउन नौ दिन नै दैनिक पशुबलि दिने गरिन्छ । अन्य समयमा पनि १५÷१५ दिनमा बोकाको बलि दिने परम्परा छ । सात महिनादेखि सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण आम्दानी शून्य हुँदा व्यवस्थापन समिति घाटामा गइरहेको पुजारी खनाल बताउनुहुन्छ । ‘पन्ध्र दिनमा बलि नदिँदा अनिष्ट हुने गरेको छ । त्यही भएर हामीले नियमित बलि दिने गरेका छौंँ’, पुजारी खनालले भन्नुभयो । सत्ययुगमा पार्वतीको दाँत पतन भएका स्थानमा दन्तकाली माताको उत्पति भएको किंवदन्ती पाइन्छ । यो कुरा श्रीस्वस्थानी कथामा समेत उल्लेख गरिएको छ । यहाँ बलि दिँदा र पूजाराधना गर्दा मनमा चिताएको पुग्ने विश्वासले हजारौँ भक्तजनले टाढा–टाढाबाट आएर पशुपक्षि बलि दिने तथा पूजाराधना गर्ने गरेको स्थानीयवासी भुजेल बताउनुहुन्छ ।
धरानको विजयपुरमा पिण्डेश्वर बाबा, बुढासुब्बा मन्दिर तथा पञ्चकन्या मन्दिर पनि छन् । यी कुनै मन्दिरमा आउने भक्तजन दन्तकाली मन्दिरको दर्शन नगरी फर्कँदैनन् ।
दन्तकाली मन्दिर गुठीअन्तर्गत संचालन हुँदै आएको छ । यहाँका आम्दानी पुजारीले व्यवस्थापन गर्दै आएका छन् । बाहिरबाट भक्तजनले प्रवेश नपाएपछि यस वर्ष पाँच पुजारीले पूजाराधना गरेका छन् । दैनिक फूलपाती, धुप, बत्ती बाल्ने काम पुजारीले गर्दै आएका छन् । सामान्य रुपमा पनि महिनामा १५÷२० हजार खर्च व्यवस्थापन समितिले व्यहोर्दै आएको पुजारी खनाल बताउनुहुन्छ । लकडाउनले आम्दानी नभए पनि परम्परा धानिरहेको मन्दिर गुठी व्यवस्थापन समितिका संयोजक रमेश खनालले बताउनुुभयो । महिनामा दुई बोका बलि चढाउने चलन छ । महिनामा २० हजार सामान्य खर्च हुने गरेको छ । धरानलाई चिनाउने धाममा उपमहानगरपालिकाको उपस्थिति र सहयोग भने शून्य रहेको पुजारी खनाल बताउनुहुन्छ । यस्तो समस्या परेका बेला त सहयोगको अपेक्षा गरिए पनि केही राहत नपाएको उहाँको भनाइ छ ।
धरानबाट जागीर तथा अध्ययनका लागि बाहिरी जिल्लामा बस्दै आएका युवा घटस्थापना अगावै धरान आउने गरेका थिए । कतिपय युवाले नौरथा मेलालाई प्रेम गाँस्ने, प्रगाढ बनाउने अवसरका रुपमा लिने गरेका थिए । बिहान ४ नबज्दै आँखा मिच्दै युवा मन्दिर पुगिसकेका हुन्थ्ये । धरानको सिंहदेवी चोकदेखि मन्दिरसम्म (करीब ५०० मिटर) ठूलो भीड हुने गरेको स्थानीयवासी बताउँछन् । भोजपुर घर भई धरान बस्दै आउनुभएका उमेश राई नौरथामा साथीभाइसँग रमाइलो गरेर मात्र दशैँ मान्न घर फर्कनुहुन्थ्यो । यस वर्ष उहाँ गत वैशाखदेखि नै भोजपुरमै रहनुभएको छ । नौरथा पूजाको बहानामा धेरै युवकयुवती रमाइलो गर्न मन्दिर निस्कने गरेको स्थानीयवासी बताउँछन् ।
दन्तकाली मन्दिर धरान–१४ विजयपुर डाँडाको मध्यभागमा छ । मध्यकालमा विजयपुरे कालिकाका नामले चिनिने उक्त मन्दिर शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा दाँत पतन भई शक्तिपीठका रूपमा स्थापित भएको किंवदन्ती छ । मन्दिरमा सतीदेवीका दाँतको प्रतीक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । मन्दिरमा बोका, राँगा आदिको बलि दिने चलन छ ।
नेपाल एकीकरणपूर्व विजयपुर राज्यका सेनवंशी राजाको इष्टदेवीका रूपमा पूजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै छ । मन्दिर विसं २०३५÷०३६ सम्म सामान्य प्रकारको थियो भने हाल भव्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि मेला लाग्छ । प्रत्येक अष्टमीमा बलिदिने चलन छ । मन्दिर पिण्डेश्वरदेखि करीब ५ सय मिटर उत्तरतिर विजयपुर डाँडामाथि पर्छ ।
रूद्राक्षारण्य महात्म्यमा पनि यसलाई पिण्डेश्वरको वायव्य दिशामा रहेकी देवी भनिएको छ । मन्दिरको मुख्य पूज्य बस्तु पनि दाँत आकारको बस्तु नै हो । यसलाई चाँदीका पाताले मोरेर राखिएको छ ।
महाभारतकालीन इतिहास बोकेको र पछिल्लो समयमा किरात राजधानीका रुपमा रहेको विजयपुर धरान उपमहानगरको शिर मानिन्छ । पाँच सय वर्ष पहिले बंगालका राजाले जीर्णाेद्धार गरेको पिण्डेश्वर मन्दिरका अभिलेख पढ्दा पुरातात्विक, पौराणिक एवं ऐतिहासिक महत्व देखिन्छ । हालको आधुनिक धरान शहर रहेका स्थानमा शुरुमा घना जंगल रहेको र फँडानीका क्रममा काठ चिर्ने आरावालाले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान शहरको नामकरण भएको भन्ने भनाइ छ ।
विजयपुरमा धेरैअघिदेखि बसोबास भए तापनि वि.सं. १९५० तिर घनाजङ्गल फँडानी गरेर समतल क्षेत्रमा सानो बस्तीबाट शुरुआत भएको धरान वि.सं. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.सं. १९९० तिर जुद्ध शम्शेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको पाइन्छ ।
विजयपुरको दन्तकालीबाट धरान बजारको रमणीय दृश्य देख्न सकिन्छ । उपमहानगरपालिकाले मन्दिर नजिकै भ्यू टेशन बनाइदिएको छ । धरानबाट बिहानबेलुका यहाँ आएर आराम गर्ने तथा धरानको दृश्यावलोकन गर्ने गर्छन् । प्रातः भ्रमण गर्नेको यहाँ ताँती लाग्छ । यसबाहेक मोरङ जिल्लाका केही भाग र उदयपुर, सप्तरी तथा सुनसरी जिल्लाका इनरुवा, कोशी टप्पु आदि स्थान पनि यहाँबाट प्रष्ट देख्न सकिन्छ । यहाँबाट पश्चिम रहेको सप्तकोशीको दृष्य मनोरम देखिन्छ । यहाँसम्म पुग्नका लागि उपमहानगरपालिकाले सिँढी बनाइदिएको छ । भानुचोकबाट साना गाडी र टेम्पुमा यहाँ जान सकिन्छ ।

मंगलबार, कार्तिक ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]