विराटनगर, ५ कार्तिक । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ ।
शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे बुधबार सरोकारवालासँग अनलाईन छलफल गरिएको हो ।
छलफलमा आएका सुझावसहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले बताउनुभयो । जेष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा इन्जिनियर शुभम् कोइरालाले प्रस्तुती गर्नुभएको थियो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । १० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने छ ।
सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास चाँडै गर्ने गरी मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले परियोजना सम्पन्न भएपछि अहिले संचालनमा रहेका आश्रमहरु भन्दा स्तरिय बन्ने बताउनुभयो । जेष्ठ नागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले जेष्ठ नागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने मन्त्री घिमिरेले बताउनुभयो ।
छलफल कार्यक्रममा जेष्ठ नागरिक अभियानन्ताहरु मणि अज्र्याल, कृष्ण भण्डारी मार्सेली, कुमार आचार्यलगायतको सहभागिता रहेको थियो ।