विराटनगर, २९ असोज । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्राम निर्माण बारे छलफल गरेको छ ।
ग्रामथानका जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सरोकारवालासँग सामाजिक विकास मन्त्रालयले भवन निर्माणबारे बिहीबार छलफल गरेको हो ।
मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । जेष्ठ नागरिक ग्राममा रहने चिल्ड्रेन पार्कको निर्माण ग्रामथान गाउँपालिकाले गर्नुपर्ने छ । १० विगाहा १४ कठ्ठामा निर्माण गरिने जेष्ठ नागरिक ग्रामको डिपीआरलगायतका काम सम्पन्न भईसकेको मन्त्रालयले जनाएको छ ।
भवन निर्माणको शिलान्यास चाँडै गर्ने गरी मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले परियोजना शुरु भएपछिको वातावरण सहज बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘परियोजना निर्माण शुरु भएपछि अवरोध भए निर्माणले गतिलिन सक्दैन ।’ जेष्ठ नागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने उहाँले बताउनुभयो ।
छलफल कार्यक्रममा सहभागि प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, गाउँपालिका अध्यक्ष शिवनारायण माझीलगायतले परियोजना कार्यान्वयनमा जोडदिनु भयो ।