विराटनगर, २७ असोज । मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राती अनलाईनमार्फत विश्वविद्यालयका प्रमुख डा. सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुनबीच सम्झौता भएको हो ।
विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नविनतम क्षेत्रमा अनुसन्धान गर्नेछन् । मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य श्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौताअनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने छ । सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताउनुभयो । उहाँले अनुसन्धानको जग बसाउने काम शुरु भएकाले मनमोहन विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताउनुभयो ।
राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष डा. पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविस्कार केन्द्रको मोडलमा संचालन गरिने बताउनुभयो । उहाँले सृजनशिल र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरी उद्यमी बन्न सक्ने उहाँले बताउनुभयो । उहाँले अनुसन्धान कार्यमा कन्जुस्याँई गर्न नहुने बताउनुभयो ।
सम्झौता कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यायका प्रमुख डा. सुवास श्री पोखरेल, नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलगायतले बोल्नु भएको थियो ।