काठमाडौँ, १० असोज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम शनिबारदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले एक बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले शनिबार बेलुकादेखि मौसम सफा हुँदै जाने जनाएको छ । हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं. ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं. १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
शनिबार राति प्रदेश नं. १, प्रदेश नं. २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश नं. ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही प्रदेश नं. १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै शनिबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव ९ डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।