विराटनगर, ४ असोज । प्रदेश १ मा आइतबार ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरङको कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैंचामा १–१ पुरुष, सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७४ पुगेको छ ।
प्रदेश १ मा आइतबार ३० जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आईसोलेसनबाट १९, होम आईसोलेसनबाट ९, वि.जनरल अस्पताल हरिनगरबाट १ र इनरुवा आईसोलेसनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ३५ पुगेका छन् । प्रदेश १ मा आइतबार ५ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ लाख १५ हजार ५ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।