बिराटनगर, २० पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले विपन्न जनताले अब रकमको अभावमा अस्पतालवाट स्वास्थ्य उपचारबाट बन्चित हुनु नपर्ने बताउनु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौंद्वारा शुक्रबार यहाँ आयोजित नेपाल जनसांख्यिक सर्भेक्षण–२०२२ प्रादेशिक सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले विपन्न जनताको उपचारको जिम्मा राज्यको मन्त्रीको हैसियलते आफुले लिने प्रष्ट पार्नु भयो ।
उहाँले सामुदायिक वा नीजि अस्पतालहरु दर्ता गर्ने समयमा १० प्रतिशत गरीव जनतालाई निःशुल्क शैयासहितको उपचार उपलव्ध गराउने प्रावधान कडाइका साथ लागु गरिएको जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले मुलुकको चिकित्सा क्षेत्रको अध्ययनका लागि खर्वो रकम विदेश जानेका कार्यको अन्त्यका लागि चिकित्सा शिक्षा ऐन संशोधनको प्रस्ताव गैसकेको बताउनु भयो ।
उहाँले संशोधन ऐनमा एक सयदेखि तीन सय शैयाको अस्पतालमा पारा मेडिकल अध्ययन र तीन सयदेखि माथिकोमा एमविविएसको अध्ययन संचालनको अनुमति प्रदान गर्ने प्रष्ट पार्नु भयो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मुलुकमा वर्तमान अवस्थामा दक्ष चिकित्सकको अभाव चिकित्सा शिक्षा ऐनको कारण भएको बताउनु भयो ।
उहाँले प्रदेशमा संचालित विभिन्न एम्वुलेन्सले लागु पदार्थ बोक्ने कार्य गरिरहेकोको चिन्ता व्यक्त्त गर्दै त्यसको अन्त्यको लागि आवश्यक मापदण्डको आधारमा संचालनको लागि निर्देशन दिएको जानकारी दिनु भयो ।
एक पालिका एक विद्यार्थीलाई दक्ष जनशक्ति उत्पादन गर्न कृषि, पशु एवं स्वास्थ्य क्षेत्रमा निःशुल्क अध्ययनका लागि सरकारले बजेटको व्यवस्था गरेको बताउनु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले स्रोत सुनिश्चित भएका ३९६ बटा ५, १० र १५ शैयाका अस्पताल पालिकालाई हस्तान्तरण भएमा संचालन र औजार खरीदका लागि बजेट विनियोजन गर्ने जानकारी दिनु भयो ।
कार्यक्रम प्रदेशका स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा र मन्त्रालयका ज्ञानबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम एवं आधार तय गर्न सर्भेक्षणले सहयोग पुग्ने विचार राख्नु भयो ।
मन्त्रालयका नीति योजना शाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल सर्भेक्षणको कार्यपत्र प्रस्तुत गर्नुभयो ।
प्रदेशमा ७७ प्रतिशत नागरिक शौचालय प्रयोग गर्नुका साथै स्वास्थ्य विमा २३ प्रतिशत, ८२ प्रतिशतले स्वास्थ्यकर्मीबाट प्रसुती गराउनुका साथै सम्पूर्ण बाल खोप लिने बालबालिका ४५ प्रतिशत रहेको सोही अवसरमा जानकारी दिइयो ।