विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त हुनु भएको छ । आइतबार प्रदेश १ प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
कार्की नेकपा माओवादी केन्द्र, राप्रपा, जसपाको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।
प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गर्नुभएको हो । यसअघि प्रदेश प्रमुख खापुङसमक्ष एमाले संसदीय दलका नेता कार्कीले प्रदेश १ प्रदेशसभाको बहुमत संख्याको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि पत्र बुझाउनु भएको थियो ।
मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले दाबी गर्नु भएपनि सत्ता साझेदार दलको समर्थनमा कार्कीले प्रदेश १ को नेतृत्व सम्हाल्नु हुने भएको छ ।
एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ र जनता समाजवादी पार्टी (जसपा) का १ गरी ६० सदस्यको हस्ताक्षरको पत्र बुझाइएको छ । प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता कार्की, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्गवो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बूको हस्ताक्षरसहित उक्त पत्र बुझाइएको थियो ।
प्र्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीलाई पुस २५ सोमबार दिउँसो २ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
प्रदेश १ को चौथो मुख्यमन्त्री बन्नु भएका कार्की यसअघिको प्रदेशसभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुनु भएको थियो ।
प्रदेशसभाको पहिलो कार्यकालमा तीन जना मुख्यमन्त्री बन्नु भएको थियो ।
पहिलो मुख्यमन्त्रीका रूपमा एमालेका शेरधन राईले २०७४ साल माघ २ गतेदेखि २०७८ भदौ १० गतेसम्म कार्यकाल बिताउनु भएको थियो । उहाँको कार्यकालमा प्रदेश १ को अस्थायी राजधानी विराटनगर टुंगो लागेको थियो । तर माओवादी र एमालेबीचको एकता टुटेपछि एमालेकै भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । उहाँको कार्यकाल ६५ दिनको मात्र रह्यो । २०७८ साल भदौ १० मा मुख्यमन्त्री बन्नु भएका आचार्यले कार्तिक १५ गते नै सत्ता छोड्नु परेको थियो ।
आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । एमाले विभाजन भएपछि समाजवादी तिर लाग्नु भएका राई तेस्रो मुख्यमन्त्री बन्नु भएको थियो ।