विराटनगर, ९ मंसिर । आठौं राष्ट्रिय उद्योग दिवस मोरङका घरेलु तथा साना उद्योगी व्यवसायीहरुले भव्य रुपमा मनाएका छन् ।
शुक्रबार विराटनगरमा विविध कार्यक्रम गरेर दिवस मनाईएको हो ।
‘‘औद्योगिक लगानी र पूर्वाधार, समृद्धिको बलियो आधार’’ भन्ने मूल नाराका साथ मनाईएको दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालयबाट प्रभातफेरि निकालिएको थियो । प्लेकार्ड, व्यानरसहित निकालिएको प्रभातफेरी विभिन्न चोक हुँदै इन्द्रेणी पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहयोगमा भएको कार्यक्रम गरिएको हो ।
घरेलु कार्यालय प्रमुख जानुका न्यौपानेको अध्यक्षथा तथा निर्देशनालयका प्रमुख राम प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महासंघ प्रदेश १ की अध्यक्ष अन्जु उपाध्याय, महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले शुभकामना मन्तव्य राख्दै साना उद्योगी व्यवसायीलाई सरकारले उपेक्षा गरेको बताएका थिए ।
नीति नियम बनाउँदा पनि सरकारले साना उद्योगी व्यवसायिका कुरालाई समावेश नगरि निर्माण गर्ने गरेको उनीहरुको गुनासो छ । घरेलु तथा साना महिला उद्योगी व्यवसायी महिलालाई ४ प्रतिशत व्याजमा ऋण दिने व्यवस्था सरकारले गरेपनि कार्यान्वयन हुननसकेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा घरेलु उद्यमीहरुलाई ऐन र उद्योग दर्तासम्वन्धी जानकारी गराईएको थियो ।