विराटनगर, ४ कार्तिक । मानवअधिकार तथा शान्ति समाजले साहित्य क्षेत्रमा योगदान पु¥याएबापत दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ ।
शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा समाजले साहित्यकार सीमा आभास र मनु विश्वकर्मालाई पुरस्कृत गरेको हो ।
समाजले विगत दुई दशकदेखि साहित्यमा सक्रिय सीमा आभासलाई २० हजार राशिको ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’ र २० हजार राशिकै ‘श्रीनारायण दाहाल स्रष्टा सौगात’ मनु विश्वकर्मालाई समर्पण गरेको छ ।
कार्यक्रममा दुबै स्रष्टालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर, सम्मानपत्र र नगद प्रदान गर्नु भएको थियो । समाजले काठमाडौंसहित विभिन्न स्थानमा कार्यक्रम गरेर १५ जना स्रष्टालाई पुरस्कृत गरेको छ । सोहीअन्तर्गत समाजले सीमा र मनुलाई विराटनगरमा कार्यक्रम गरेर पुरस्कृत गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले भौतिक संरचनाको विकाससँगै भाषा, साहित्य र कलाको विकासलाई पनि प्राथमिकतामा राखेको चर्चा गर्नु भयो । भौतिक विकासलाई कला, साहित्य र संस्कृतिसँग जोड्न सकेमा मात्रै दिगो विकास हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्राज्ञ विवश पोखरेल, खेम नेपाली, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, आयोजक संस्थाका मोरङ अध्यक्ष भेषराज पोखरेल, सचिव अशोक लामालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।