११ माघ २०८१, शुक्रबार

दर्शन संवाददाता

२ वर्ष अगाडि

बिराटनगर, २८ असोज । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डलले आफ्नो क्षेत्रको विकासका लागि र जनताको खास प्रतिनिधि बन्नका लागि आफूले उम्मेद्वारी दिएको बताएका छन् ।
शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै मण्डलले क्षेत्र नं. ५ विकासको दृष्टिकोणले पछि परेको र पहिला निर्वाचित भएर गएकाहरुले जनताको विकास नगरेका कारण जनताले चाहेअनुरुपको काम गर्न उम्मेदवारी दिएको बताए ।
आफ्नो निर्वाचन क्षेत्रका मानिसहरु कृषिमा आश्रित भएका कारण कृषिको विकासमा जोड दिने उनले बताए ‘यो क्षेत्रका मानिसहरु कृषिमा आश्रित छन्, उनीहरुको हितका लागि अघिल्ला प्रतिनिधिले कुनै काम गरेका छैनन्,’ मण्डलले भने, ‘कृषिको विकास गर्न, कृषिलाई प्राथमिकतामा राखेर यसको आधुनिकिकरण गरेर जनताको जीवनस्तर उकास्न मेरो उम्मेदवारी हो ।’
आफूले २५ वर्षदेखि अनवरतरुपमा समाजसेवामा लागेर गरिबीरहित नेपालको परिकल्पनासहित क्षेत्र नम्बर ५ लाई पनि गरिबीरहित बनाउने उद्देश्यकासाथ काम गरिरहेको उनले बताए । यसअघि यो क्षेत्रबाट जितेका नेताहरुले केही काम नगरेको उनको भनाई छ । ‘हामीले पटक–पटक नेताहरुलाई मत हालेर जिताउँदा पनि आफ्नो क्षेत्रमा विकास र परिवर्तन भएको छैन्, समस्या जस्ताको त्यस्तै छन्’ उनले भने ।
नेकपा एमालेबाट टिकटको आकांक्षी रहेका मण्डलले पार्टीभन्दा पनि कुनै व्यक्तिका कारणले आफूले टिकट नपाएको उल्लेख गरे । विकास गर्नका लागि पार्टीबाट उम्मेदवार हुनुपर्छ भन्ने नभएको बताउँदै मण्डलले पार्टीका भन्दा नी स्वतन्त्र बनेर जितेकाहरुले धेरै काम गरेको बताए ।
‘यही क्षेत्रमा जन्मेर, हुर्केर बसेको मान्छे भएका कारण यो क्षेत्रको आवश्यकता पूर्ति गर्न लागि परिरहेको छु र आगामी दिनमा पनि लागिरहने छु,’ मण्डले भने्, ‘अहिलेसम्म कति जितेर गए, हामीले नै जितायैँ पनि, तर उनीहरुले जनताका लागि केही काम गरेनन् ।’ अघिल्ला प्रतिनिधिहरुलाई आफ्नो कार्यकालमा के काम गर्नुभयो ? भन्ने प्रश्न गर्दा उनीहरुसँग उत्तरै नभएको उनले बताए ।
तपाईको प्रतिस्पर्धी को हो ? भन्ने पत्रकारको प्रश्नमा सत्ता गठबन्धनका उम्मेद्वारले पनि योगेन्द्र मण्डल नै प्रतिस्पर्धी भनिरहेको र एमालेसँग तालमेल गरेको जसपाले पनि प्रतिस्पर्धी योगेन्द्र मण्डल नै भनिरहेको अवस्थामा आफू प्रतिस्पर्धामा नै रहेको उनले बताए । आफू प्रतिस्पर्धामा नै रहेकाले मेरा प्रतिस्पर्धी छैनन् भनेर भन्न नमिल्ने उनको तर्क छ ।
संस्थाका कुनै पनि व्यक्ति र कर्मचारीलाई आफूले चुनाव प्रचारका गतिविधिमा सामेल नगराउने उनले बताए । आफू संस्थाको सबै पदबाट राजीनामा दिएर राजनीतिमा आएका कारण अब भिजन दिएर जनताको काम गर्नेमा उनले जोड दिए ।
जीवन विकास समाजका संस्थापकसमेत रहेका मण्डलले दुई हजार बढीलाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेको र धेरै किसानहरुलाई लगानीकर्ता बनाएको बताए ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डल उम्मेदवार छन् । एमाले जसपा तालमेलबाट जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् ।

शुक्रबार, आश्विन २८, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]