२२ कार्तिक २०८१, बिहिबार

दर्शन संवाददाता

२ वर्ष अगाडि

बिराटनगर, २८ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार लालबाबु पण्डितले निर्वाचनमा एक दललाई बहुमत दिंदा मात्र जनताले सोचेअनुसारको काम गर्न सकिने बताएका छन् ।
पेशागत महासंघ नेपाल मोरङ र बुद्धिजीवी परिषद् मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पण्डितले कुनै पनि दलको बहुमत नआउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्दा भने जस्तो काम गर्न नसकिने बताए ।
‘बहुमत आउँदैन, अर्को पार्टीसँग मिल्नुपर्ने अवस्थामा दुई दल वा अन्य दलहरुसँग विचार मिलिरहेको अवस्था पनि नहुने हुँदा विकास काम लगायत अन्य काम गर्न पनि असहज हुने परिस्थिति आउने हुन्छ’, उनले भने, ‘त्यसकारण जनताले एउटा दललाई स्पष्ट बहुमत दिने हो भने मात्र जनताको चाहनाअनुसारको काम गर्न सकिन्छ ।’
कार्यक्रममा बोल्दै पण्डितले मंसिर ४ पछि नेकपा एमालेको सरकार मुलुकका लागि आवश्यक रहेकोले एमालेलाई बहुमत दिन जनतालाई आग्रह गरेका छन् । उनले नेपाली जनताको भविष्य, समाजको उत्थान तथा विकास, समृद्धि र सुशासनको लागि पनि नेकपा एमाले नेतृत्वको सरकार आवश्यक रहेकोमा जोड दिए ।
एमाले नेतृत्वको सरकार हुँदा गरेका कामहरुको चर्चा गर्दै पण्डितले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्त्तरोन्नती गर्ने कार्य आरम्भ गरेपनि गठबन्धन सरकारले त्यसलाई रोकेको भन्दै आलोचना गरे । उनले भने ‘अबको चुनाव पछि एमाले नेतृत्वको सरकार बन्छ, विमानस्थल स्त्तरोन्नती हुन्छ, स्थानीयले मुआब्जा पाउँछन् ।’
विराटनगरको सभागृहको स्त्तरोन्नतीका लागि बजेट छुट्याउँदा पनि काम नभएको बताउँदै उनले पच्चिस सय क्षमताको सभाहल बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
पण्डितले मोरङ क्षेत्र नं. ६ मा पनि आफुले उल्लेखनीय बजेट ल्याउन सफल भएको बताए । बुढी खोला नियन्त्रण, खनार नेताचौक मुल नहरको सडकमा कालोपत्रे लगायतका काम र विकास निमार्णका अधुरा कामहरु पूरा गरिने उनले बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विनोद ढकालले जनताले रुचाएको पार्टी भनेकै नेकपा एमाले रहेको बताए । उनले मोरङ क्षेत्र नं. ४ जनताको जीवनस्तर उकास्न रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा उल्लेख्य बजेट ल्याउन आवश्यक रहेको बताउँदै उक्त क्षेत्रका जनताले धेरै नेतालाई जिताएपनि जनताको भावना सम्बोधन गर्न नसकेकाले जनताको आशा र विश्वास नेकपा एमाले प्रति रहेको बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश ४ ‘ख’ का उम्मेद्वार जीवन घिमिरेले सरकारमा एमालेको नेतृत्व हुदाँ भए गरेका कामलाई जनतासामु बुझाउँने काम बुद्धिजीवीहरुको रहेको उल्लेख गरे । कामै नगरी जनतामा भ्रम छर्ने दुष्प्रयास विपक्षीहरुबाट हुनसक्ने भन्दै उनले बौद्धिक क्षेत्रले त्यसलाई चिर्नुपर्नेमा जोड दिए ।
प्रदेश ६ ‘ख’का उम्मेद्वार पर्शुराम बस्नेतले क्षेत्रका जनताको अपेक्षा अनुसार नै आफु उम्मेद्वार बनेको र जनताको अपेक्षामा कहिल्यै चोट पुग्न नदिने बताए ।
६ ‘क’ की उम्मेद्वार रीता न्यौपानेले आफुले जिते युवा तथा महिला सशक्तिकरण, रोजगारीलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन ।
यसैगरी ४ ‘क’ का उम्मेद्वार जयप्रकाश चौधरीले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी नै यस क्षेत्रको आवश्यकता रहेको भन्दै त्यसलाई प्राथमिकता दिइने बताए ।

शुक्रबार, आश्विन २८, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]