विराटनगर, १० चैत । प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको हो ।
प्याब्सनको १५ औं महाधिवेशनको उद्घाटनका क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पुस्तकको विमोचन गर्नुभएको हो ।
१४ औं महाधिवेशनबाट प्याब्सनको केन्द्रीय अध्यक्ष बन्नुभएका पुरीले एभरेष्ट एजुकेशन फाउण्डेसनअन्तर्गत एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल, एभरेष्ट कलेज, एम्स कलेज विराटनगर र पाथिभरा स्कुल इटहरीलगायत शैक्षिक संस्था संचालन गर्दै आउनु भएको छ ।
२०२४ साल वैशाख १ गते संखुवासभाको खाँदबारी नगरपालिकामा जन्मनु भएका पुरीले बाल्यकालदेखि प्याब्सनको नेतृत्वमा पुगेर गरेका संघर्ष पुस्तकमा समावेश गरिएको छ । आर्थिक अवस्थामा कारण १४ वर्षको उमेरसम्म चप्पल लगाउन नपाउनुभएका पुरीले स्कुल तहको अध्ययन गर्दा दालचिनी बेचेर खर्चको जोहो गरेको कथा पुस्तकमा समेटिएको छ ।
एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि विराटनगर आउनु भएका उहाँले विराटनगरमा रोजगारी नपाउँदा गरेको संघर्षदेखि सयौंलाई रोजगारी दिने संस्थाको नेतृत्व गर्दाको अनुभवलाई खाली खुट्टामा समावेश गरिएको छ । पुरीको पुस्तक ‘खाली खुट्टा’ जनता पब्लिकेशनले प्रकाशित गरेको हो ।