विराटनगर, ५ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सुनसरीको इनरुवा अस्पताललाई एक महिना भित्रमा व्यवस्थित गरिसक्ने बताउनु भएको छ ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लामो समयदेखि रिक्त रहेको र आवश्यक चिकित्सकको पनि अभाव भएकाले एक महिना भित्रमा व्यवस्थित गरिसक्ने उहाँले बताउनुभयो ।
इनरुवा अस्पतालमा मन्त्री यादवसहित सोमबार पुगेको सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको अनुगमन तथा स्थानीय सरोकारवालासँग अन्तक्रिया पनि गरेको छ । इनरुवा अस्पताल सुदृढीकरण सम्वन्धी गरिएको अन्र्तक्रियामा अस्पताल प्रमुख प्रदेशले नियुक्त गरी जिम्मेवारी दिनुपर्ने, विशेषज्ञ डाक्टर तीनै तहको सरकारको समन्वयमा पूर्ती गरिनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाका लागि राजनैतिक प्रतिबद्धता हुनुपर्ने, स्वास्थ्य वीमा कार्यक्रम प्रदेश सरकारमार्फत संचालन हुनुपर्ने लगायतका विषय मन्त्री यादव समक्ष प्रस्तुत गरिएको थियो । उहाँले अस्पतालको अनुगमनका क्रममा सम्पूर्ण विषय बस्तुको जानकारी आपूmले लिएकाले चाँडै व्यवस्थापनमा लाग्ने बताउनुभयो । उहाँले इनरुवा अस्पतालको समस्याबारे आफुले जानकारी पाएलगत्तै स्थलगत निरीक्षणका लागि आएको बताउनु भएको थियो । उहाँले अस्पतालका कर्मचारी तथा स्थानीय सरोकारवालालाई अस्पताल भित्र राजनीति गर्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पताल सार्वजनिक सम्पत्ति हो, यहाँ राजनीति हुनुहुँदैन ।’
अस्पताल अनुगमनमा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईलगायतको टोेली रहेको मन्त्री यादवका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।